लकडाउन भएपछि रुपन्देहीमा विकास खर्च न्यून

रुपन्देही । आव २०७६/०७७ मा ४ महिना कोरोनाका भाइरसका कारणले लकडाउन भएपछि रुपन्देहीमा (पूँजीगत) विकास खर्च न्यून भएको छ ।
आर्थिक वर्षको सुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनि विकास खर्च न्यून हुने गरेको छ ।
महामारीले विकास निर्माण प्रभावित हुँदा पूँजीगत खर्च निकै कम भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) रुपन्देहीले जनाएको छ ।
यो आवमा ३८ अर्ब ३० करोड ६२ लाख ५७ हजार अख्तियारी पाएको कोलनिकाले पूँजीगततर्फ ५ अर्ब ८१ करोड २५ लाख ५७ हजार र चालुतर्फ ३२ अर्ब ४९ करोड ३७ लाख अख्तियारी पाएको थियो ।
जिल्लामा यसवर्ष कुल बजेटको ८७ प्रतिशत बजेट खर्च भए पनि विकास खर्च भने निराषाजनक छ । १३ प्रतिशत बजेट भने फ्रिज भएको प्रमुख कोष नियन्त्रक चन्द्रप्रसाद भुसालले बताउनुभयो । पूँजीगत अर्थात् विकास खर्चतर्फ कुल रकमको ३ अर्ब ६९ करोड ४४ हजार अर्थात् ६३.४८ प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ कुल बजेटमध्ये २९ अर्ब ७० करोड १० लाख ६५ हजार अर्थात् ९१.४ प्रतिशत खर्च भएको छ ।
जिल्लामा यसवर्ष बजेट खर्च गर्ने मुख्य विकासे आयोजना र कार्यालयले राम्रो गति लिन नसक्दा पूँजीगत खर्च बढ्न सकेन । खासगरी डिभिजन सडक, बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, संघीय खानेपानी तथा ढल व्यवस्थापन योजनाले राम्रो प्रगति हासिल गर्न सकेनन् । खासगरी कार्यालय र आयोजनाहरुको काम गर्ने क्षमता, पद्दति र कोरोना भाइरसका कारण ठूलो कार्यालय र आयोजनाको काम प्रभावित भएको प्रमुख कोष नियन्त्रक भुसालले बताउनुभयो ।
लकडाउनकाबीच पनि संघीय भवन आयोजना इकाई, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, बुटवल सडक आयोजनाले भने राम्रो प्रगति हासिल गरेको कोलनिकाले जनाएको छ ।
कोलनिकाका अनुसार आव २०७६।०७७ मा राजश्व लक्ष्य पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।
अघिल्लो आवमा रुपन्देही ८१ वटा कार्यालयले १ खर्ब राजश्व संकलन गरेकोमा यो आवमा ९१ अर्ब ८३ करोड मात्रै संकलन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ८ प्रतिशतले कमी हो ।
यो वर्ष भैरहवा भन्सार कार्यालयले ७० अर्ब, आन्तरिक राजश्व कार्यालय बुटवल र भैरहवाले ८÷८ अर्ब राजश्व संकलन गरेका छन् । रेडियो नेपालमा समाचार छ । 

अन्य समाचारहरु