टाेपलाल अर्याल नयाँपत्रीका
गुल्मी । गुल्मीको शान्तिपुरमा पहिरोले ट्रक बगाएको छ । चन्द्रकोट गाउँपालिका– ७ खसीमारे भन्ने स्थानमा पहिरोले लु.६ख ७७९२ नम्बरको ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामान लिएर शान्तिपुर जाँदै गरेको ट्रक हिलोमा अड्किएको थियाे । हिलोमा अड्किएको ट्रक माथिबाट झरेको पहिरोले बगाएर एक किलोमिटर तल लगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए ।
पहिरोले ट्रक बगाए पनि मानवीय क्षति भने भएको छैन । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ बासकोटमा अविरल वर्षासँगैको पहिरोले ६ घरपरिवार विस्थापित भएका छन् । पहिरोले गोठमा क्षति पुऱ्याउनुका साथै बस्ने घर उच्च जोखिममा परेकाले विस्थापित भएको स्थानीय रुपेश नेपालीले जानकारी दिए ।
वर्षा भइरहेकाले जोखिम बढिरहेको छ । विस्थापितमध्ये चार घरपरिवरलाई तत्कालका लागि जनता बाल निकेतन मावि पीपलपाटामा व्यवस्थापन गरिएको र पानी परिरहेकोले सतर्क रहन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले आग्रह गरेका छन् ।