श्यामलाल पोखरेल
बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्जसहित १० जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बुटवलस्थित रानीगञ्जबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज संगम पुनसहित १० जनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ताले बुटवलमा प्रतिबन्धित गतिविधि गरेकाले पक्राउ गरिएको बताउनुभयो । पक्राउ गरिएका नेता पुनसहित सबैको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
बुटवलको रानीगञ्जमा सुकुम्वासी समस्याबारे छलफल भैरहेको अवस्थामा शुक्रबार दिउँसो साढे तीन बजेतिर सादा पोशाकका प्रहरीले अमानीय ढंगले पक्राउ गरेको सो पार्टीका एक नेताले बताए ।
सुकुम्बासीको समस्याबारे छलफल भइरहँदा निहत्था नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर सरकारले लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको ती नेताले बताए । उनले पक्राउ गरिएकाहरुलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग गरे ।
सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि एक हजार बढी नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेका छन् ।
पार्टीका उच्च तहका नेता हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्य रणवीर, साहित्यकार तथा कलाकारसमेत रहेका केन्द्रीय सदस्य माइला लामा, ओमप्रकाश पुनसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।