बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, १मा कोरोना संक्रमण, अर्काको परीक्षण जारी

विष्णु घिमिरे नयाँपत्रीका
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुईजनाको निधन भएको छ ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार उपचारका लागि भर्ना भएका कपिलवस्तुका दुईजनाको गएराति निधन भएको हो । 
आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उनले बताए । 
एकजनाको राति ४ बजे र अर्का एकजनाको करिब पौने ३ बजे मृत्यु भएको हो । 
४२ वर्षीय पुरुष साउन २५ गते र २५ वर्षीय पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए ।
४२ वर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि भए पनि अर्का २५ वर्षीय पुरुषको स्वाब परीक्षण हुन बाँकी छ ।
अस्पतालका अनुसार दुवैजनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।
२५ वर्षीय पुरुष भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । 
उनको स्वाबको पिसिआर परीक्षणको प्रक्रियामा रहेको छ । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । 
यसअघि अस्पतालमा बाबुराम थापाको मृत्यु भएको थियो । सैनामैनाका उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । 

अन्य समाचारहरु