गत भदौको ७ गतेदेखि रुपन्देही जिल्लामा जारी गरिएको लकडाउनको अवधि एक साता थप गरिएको छ।
यसअघि जिल्लाका कतिपय पालिकाहरूले आ-आफ्नै तरिकाले लकडाउन जारी गर्दै आए पनि गत ७ गते सम्पन्न जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसीको बैठकले एक साताको लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो।
सिसिएमसीको उक्त निर्णय अनुसार जारी गरिएको लकडाउन आइतबार राति १२ बजेपछि समाप्त हुँदै थियो। जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै पुगिसकेको र नियन्त्रणको लागि अझै एक साता लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आइतवार थप गरिएको लकडाउन भदौ २० गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।
केहीबेरअघि सम्पन्न जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएमसिसी)को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन नै भएको निष्कर्षसहित समयावधि बढाउने निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए।
छिमेकी जिल्लाहरूमा पनि निषेधाज्ञा रहेको र रुपन्देहीमा पनि संक्रमणको जोखिम हटिनसकेकाले एक पटकलाई लकडाउन थप गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरू सहितको बैठकले उक्त निर्णय गरेको हो।
पछिल्लो समय रुपन्देहीको दक्षिण क्षेत्रमा कोरोनाको संक्रमण कम देखिएको र उत्तरतर्फका नगरपालिकासँगै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा संक्रमितहरूको संख्या बढ्दै गएको छ।
रुपन्देहीमा हालसम्म कुल संक्रमितको संख्या करिब ९ सय पुगेको छ भने ५ सय बढी सक्रिय संक्रमित छन्। त्यस्तै, रुपन्देहीमा हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेतोपाटीमा समाचार छ ।