दुइ तिहाईको दम्भमा छलफलनै नगरी प्रदेश पाँचको राजधानी भालुबांगलाई प्रस्ताब गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको छ ।
छलफल नै नगरी दुइ तिहाइको दम्भमा राजधानी राख्न खोजिएको भन्दै नेपाली कांग्रेस संसदस्य समिति प्रदेश पाँचले सदनमा बिरोध जनाएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताउनु भएको छ ।
शुक्रबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको २९ औ बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रस्ताव पेश गरेका थिए ।
मन्त्री केसीले पस्ताव पेश गरेलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आपत्ती जनाएका थिए ।
सिफारिस समितिले प्रस्ताब गरेभन्दा प्रदेशको राजधानी फरक ठाउ र कार्यसूचिमा नभएको प्रस्ताव पेश गरिएको भन्दै प्रदेशसभा सदस्यहरुले आ आफ्नो ठाउँबाट उठेर आपत्ति जनाएका हुन् ।
राजधानी सम्बन्धी प्रस्ताव पेश भए लगत्तै नेपाली काग्रेसका प्रदेशसभा सदस्यहरु रमा अर्याल,फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाएका थिए ।
प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रस्ताव पेश गरेको थाहा पाउनासाथ बुटवलमा त्यसको बिरोध सुरु भएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बुटवलको नेपालगञ्ज रोडमा टायर बालेर चक्काजाम गरेर बिरोध गरेका छन् ।
प्रदर्शनका क्रममा केही सरकारी सवारी साधन तोडफोड भएको बताइएको छ ।