प्रदेश ५ को राजधानी दाङको देउखुरीमा लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा नेपाली कांग्रेसले आइतबार रुपन्देही बन्दको आह्वान गरेको छ।
प्रदेशको राजधानी बुटवलबाट सार्ने निर्णयविरूद्ध नेपाली कांग्रेसले आइतबार रुपन्देही बन्दको घोषणा गरेको हो। कांग्रेस रुपन्देहीको शनिबार बसेको बैठकले साँझ बुटवलका १९ वटै वडामा राँके जुलुस निकाल्ने र आइतबार रुपन्देही बन्द गर्ने निर्णय गरेको नेपाली कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले जानकारी दिए।
उनले बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरू तय गरेको भन्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरू तथा अरु राजनीतिक दलका नेता कार्यकर्तालाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
कांग्रेसले सोमबार बिहान १० बजेदेखि नै प्रदेशसभा भवन घेराउ गर्ने निर्णय समेत गरेको छ। सरकारले गरेको निर्णय फिर्ता लिन र बुटवललाई नै स्थायी राजधानी तोक्ने माग गर्दै कांग्रेसले नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ।
नगर सभापति पाण्डेले प्रदेश राजधानी दाङ लैजान घोाषणा गरिएको दिन बुटवलको लागि कालो दिनको रुपमा लेखिने समेत बताए। सरकारको यो निर्णय गलत रहेको भन्दै उनले यो निर्णयले बुटवलको लागि मात्र नभई प्रदेशलाई नै दीर्घकालीन रुपमै असर गर्ने बताए।
अरु प्रदेशमा अस्थायी राजधानी तोकिएको स्थानमै स्थायी राजधानी बनाइएकोमा प्रदेश ५ को मात्र परिवर्तन हुनु व्यक्तिगत र राजनितिक इगो र स्वार्थको लागि परिवर्तन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए। सेतोपाटीमा समाचार छ ।