काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र सार्ने विषयमा प्रदेश सभामा आज छलफल हुँदैछ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङलाई बनाउने प्रस्ताव गरेको थियो ।
प्रदेश सभामा सो प्रस्तावमाथि आज छलफल हुँदैछ । प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश न ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ ।
सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिनुभएको छ । प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ ।
संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ । प्रदेशसभामा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।
राजमोको रणनीति
प्रदेश सभाको नाम ‘लुम्बिनी’ मा राष्ट्रिय जनमोर्चाले मतदान गर्ने भएको छ । तर राजधानीको विषयमा राजमो तटस्थ बस्नेछ ।
राजमोका तर्फबाट प्रदेश सांसद तारा जिसीले आफूले लुम्बिनी नाममा मतदान गर्ने बताउनुभयो । राजधानीका सन्दर्भमा भने पार्टीले अधिकार सम्पन्न आयोग गठन गरी राजधानी टुंगो लगाउन विगतदेखि नै माग गरेकाले आफूले पनि सोही अडान प्रदेशसभामा राख्ने जिसीले युगदर्शनलाई जानकारी दिनुभयो ।
नेकपामा तिब्र विवाद
प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि देखिएको छ । सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्। बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन् ।
बुटवलमा आन्दोलन, जिल्ला जिल्लामा विभाजनको रेखा
प्रदेशको राजधानी सार्ने विषयले बुटवलमा तनाव उत्पन्न भएको छ । प्रतिपक्षी कांग्रेसले बुटवल बन्दको आह्वान गरी आन्दोलन सुरु गरेको हो । सोमबार पनि प्रदर्शनकारीले बुटवलमा प्रदर्शन गरिरहेका छन् ।
दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ । दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ ।
स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेस सडक आन्दोलनमा छ । संयुक्त संघर्ष समिति र कांग्रेसले आज प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेका छन् । प्रदेशसभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।