प्रदेश राजधानी यसकारण बन्दैछ भालुवाङ

शोभाखर पन्थी 
अर्घाखाँची  ।  हुन त नेपाल पत्रकार महासंघ प्रदेश समितिले दुई बर्ष पहिले भालुवाङमा आयोजना गरेको मिडिया सम्मेलनमा प्रदेश राजधानी भालुवाङमा नै बन्नुपर्छ भन्ने बलियो आवाज उठेको थियो । 
त्यहाँ उपस्थित नेताहरूले राजधानीको निम्ति भालुवाङ नै उपयुक्त स्थान रहेको भनी मन पग्लाएका थिए । हामीलाई कार्यक्रम राख्नको निम्ति प्रेरित गर्ने मित्रहरू पनि निक्कै खुसि थिए । हामी पनि महान सहिद कृष्णसेन ईच्छुकको भग्नावशेष को रुपमा रहेको निवासमा उहाँको स्मरणमा कार्यक्रम गर्न पाउँदा निक्कै हर्सित थियौं । अझै राजधानी नै बनाउने कुरा चल्दा दङ्ग पनि । मलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिईएको थियो । देशैभरी बाट आएका अगुवा  पत्रकार नेता र प्रदेशका साथीहरूको व्यवस्थापन गर्नु पर्दा मैले सबैको भाषण राम्रोसँग सुन्न पाईन । जतिको सुने राप्ती नदीको किनार ,कृष्णसेन ईच्छुकको घर भालुवाङको निक्कै ठुलो महत्व रहेको अनुभुती गरें । 
कार्यक्रम सकिए लगत्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता ,अग्रज पत्रकार  सुर्य थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हामीलाई बधाई दिनुभयो  । दुबै जनाको भनाई थियो यो कार्यक्रमको ऐतिहासिक महत्व रहनेछ । उहाँहरुले भन्न खोज्नु भएको कुरा मैले बुझिन अनि नेता सुर्य थापा लाई सुटुक्क सोधें त्यस्तो खासमा के भयो र सर ? मेरो पश्न सकिन नपाउँदै सुर्य थापाले भन्नुभयो -प्रदेश राजधानी बन्ने ठाउँ नै भालुवाङ हो । तिमिहरुले कार्यक्रम गरेर भालुवाङको बारेमा चर्चा चलायौं ।उहाँको भनाइमा म सहमत हुन सकिन  , तर सुर्य जी को अगाडि बिरोध जनाउने हिम्मत पनि भएन, अनि होला र ? मात्र भने, उहाँले भालुवाङको पुल नजिकै उभिएर मलाई नोट गरेर राख  भनी प्रेसर गर्नु भयो ।  म पनि हो भन्न बाध्य भएँ । सुर्य जी बोलिमा पक्का हुनुहुन्छ भन्ने कुरा मलाई बाल्यकाल देखि नै थाहा थियो तर यो कुरामा म पुर्ण रुपमा बिश्वस्त हुन सकिन ।सायद  सुर्य थापाको अलावा अरु कुनै नेताले मलाई त्यो कुरा भनेको भए मैले पटकपटक गफको तालमा हजुरको भालुवाङ राजधानी कहाँ पुग्यो भनेर गिज्याउने थिएँ । नेता थापालाई भन्ने साहस ममा भएन । 
समय अन्तर सँगै करीब ८/९ महिना पहिले सबैको जित हुनेगरी बुटवल र  कपिलवस्तु गोरुसिङे बीचको  आसपास क्षेत्रमा  सहमति गरी राजधानी राखौं भनी अर्घाखाँचीका प्रदेशसभा सदस्य  चेतनारायण आचार्यले बताउँदा एक थरी बुटवल वाला नेताले उहाँको खेदो नै खने । उहाँको बिरुद्धमा तथानाम समाचार लेखाए । हामीले प्रतिवाद गर्न खोज्यौं तर  आचार्यले घरको कुरा हो किन झगडा गर्ने साथिहरुले पछि संझनु हुन्छ चुप लाग भनेपछि हामी  रोकियौं ।  अहिले समय फेरिएको छ । अब भालुवाङ प्रदेश राजधानी हुने कुरा करीब करीब टुंगिएको छ । सायद चेतनारायण आचार्यहरुले भनेको समयमा बुटवल बाहेक थोरै  आसपासको ठाउँ लाई पनि स्वीकार्न सकेको भए स्थिति सहज थियो । सहमति मै राजधानीको बिषय टुंगिने थियो  । बुटवलका बाहेक अरु मान्छे नै होइनन् भन्ने मनोगत सोंच भएका हरुको एकोहोरो रटान र प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारण अब प्रदेश राजधानी भालुवाङ बन्नुको बिकल्प रहेन । प्रदेश सरकारले प्रस्ताव ल्याए पनि नेकपाका केहि सांसदहरूले बिकल्पमा छलफल गर्न जोडदार माग गरेका थिए । सरकार पनि सोच्न बाध्य बन्दै थियो । प्रतिपक्षी दलले यो कुरा बुझ्यो र आन्दोलनमा गएर राम्रै फाईदा पुग्ने ठान्यो । उसले कोरोना लाई पनि बिर्सिएर कार्यकर्ता सडकमा ल्यायो । उसका कार्यकर्ताले सडकमा टायर मात्र बालेनन् नेकपाका नेताहरूलाई लक्षित गर्दै उनीहरू सबार गाडिमा तोडफोड गरे । उनिहरुले स्वयं मुख्यमन्त्री संकर पोख्रेलको गाडिको समेत सिसा फुटाए ।
 कांग्रेसका सांसदहरूले प्रदेश सभाको बैठक चलिरहेको समयमा त्यहाँ भएका टेवल कुर्सी फुटाउने ,माईक भाँच्ने जस्तो तान्डव नृत्य देखाए । यि सबै घट्नाक्रमले अब नेकपाका सबै सांसदहरू लाई एक ठाउँमा उभिन बाध्य पार्यो । उनिहरुले अब निर्णय गर्न जति  ढिलो गर्नेछन् त्यति स्थिति अराजक र उदण्डतामा जाने छ ।स्थिति बिग्रदै जाँदाको परिणाम कल्पना बाहिरको पनि हुन सक्छ । हिजो बुटवल बाहिर ठाउँ नै छैन भन्दै  टसमस नै हुन नखोज्दा भालुवाङ पुग्नुपर्ने अबस्था आए  जस्तै अझै लफडा गर्दै जाने हो भने भोलि घोराही पुग्नुपर्ने अबस्था पनि आउन सक्छ । 
तसर्थ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै सांसदहरू एक ढिक्का भई प्रदेश सरकारले ल्याएको प्रस्ताव एकमना एकताका साथ पास गरौं । प्रस्तावको पक्षमा आउने नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलका सांसदहरू सँग समेत सहमति कायम गरौं ।

अन्य समाचारहरु