अमृता अनमोल कान्तिपुर
बुटवल — प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र तोकिएको छ । प्रदेशसभा मंगलबारको बैठकबाट नाम लुम्बिनी र स्थायी राजधानी दाडको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मंगलबार प्रदेश सभा सदस्यहरुबीच मतदान भएको थियो । लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरे । नामकरण सम्बन्धमा कांग्रेस र नेकपाले पक्षमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टीका ४ जनाले विपक्षमा मतदान गरे ।
राजधानी दाङ तोक्नेबारेको मतदानमा ८२ जना सहभागी भए । पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरे ।
प्रदेश सभाका ८७ सदस्यमध्ये मंगलबार ८६ जना उपस्थित थिए । सभामुखले मतदान गर्न नपाइने नियम छ । कांग्रेस सदस्य सुरेन्द्र हमाल अनुपस्थित थिए । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे र सदस्य कल्पना पाण्डेले पनि मतदान बहिस्कार गरे । प्रदेश राजधानी दाङ लैजानेबारे राष्ट्रिय जनमोर्चाका तारा जीसीले पनि मतदान बहिष्कार गरिन् ।
राजधानी तोक्ने सम्बन्धमा १९ सदस्य रहेको कांग्रेस तितरबितर भयो । लुम्बिनी क्षेत्रका १३ सदस्यले राजधानी दाङ लैजाने विपक्षमा मतदान गरे । दाङ, बाँके र बर्दियाका सदस्य डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी र मोहमद याकुम अन्सारी गरी ५ जनाले पार्टी ह्वीपविपरीत पक्षमा मतदान गरे । जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, सदस्य पुर्मती ढेंगामगर, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले राजधानी दाङ लैजाने पक्षमा मतदान गरे ।
प्रदेशको नाम र स्थायी राजधानी बहुमतबाट पारित भएपछि पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै नागरिकको हित र बृहत्तर विकासका लागि राजधानी देउखुरी क्षेत्रमा लगेको प्रतिक्रिया दिए । उनले एक वर्षभित्रमा प्रदेश राजधानी कस्तो बनाउने भन्नेबारेमा डीपीआर बनाउने र भौतिक संरचना बनाउन थाल्ने तत्पश्चात मात्रै प्रशासनिक कार्यालय सार्ने जानकारी दिए ।
यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेस विरोधमा उत्रिए पनि मंगलबार लोकतान्त्रिक मूल्य मान्यताअनुसार चुनावी प्रक्रियामा भाग लिएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पार्टीको ह्वीपविपरीत जाने ५ जना सदस्यलाई अनुशासनको कारबाही गर्ने बताए । कांग्रेसका तर्फबाट लेखा समिति सभापति बनेका डिल्ली चौधरीलाई हटाउने उनले बताए ।
प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।
प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।