दशरथ घिमिरे देशसन्चार
दाङ – रिना शर्माले भालुबाङ चोकमा फलफूल बेच्छिन् । धेरै वर्ष भयो सडक किनारमा खुद्रा व्यवसाय चलाउन थालेको।
राजधानी आएपछि उनमा खुशीको सीमा नै छैन । तर, यो खुशी भित्र मनमा केही डर भने छ । सडकको व्यापार बन्द हुने हो की भन्ने पिरलो सुनाइन्।
‘हामीलाई पनि व्यवस्थित गरेर राम्रो ठाउँमा राखियोस्’उनले भनिन,‘राजधानीले सबैलाई न्याय गरे जस्तै हामीलाई पनि न्याय गरोस् । धन पैसा हुनेले जग्गा जमिन खोज्दै हिँडेका छन् । न सम्पत्तिबाला परियो, न ठूलो व्यवसायी’ उनले भनिन,‘राजधानीले खुशी बनायो । यो खुशी टिकिरहोस् ।’
राजधानीले ठेला व्यवसाय विस्थापित हुने चिन्ता छ।
‘राजधानी आउनै पर्यो । हाम्रो व्यवसायलाई पनि व्यवस्थित बनाईदिए हुन्थ्यो’उनले भनिन,‘हामी चाहन्छौँ। सबैलाई समान व्यवहार गरियोस्।’
लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि भालुबाङ बासीमा खुशीको सीमा छैन। कसैको नजर नपरेको ठाउँमा प्रदेश सरकारले राजधानी सार्ने निर्णय गरेर भूगोललाई न्याय गरेको तर्क उनीहरुको छ ।
‘सरकारले गरेको निर्णय कागजमा मात्रै सीमित नहोस्। महिना दिन भित्रै राजधानीका गतिबिधि यता हेर्न पाइयोस् ’स्थानीय भीमार्जुन सुवेदीले भने,‘यो निर्णय कार्यान्वयनको लागि छिटो भन्दा छिटो कार्यालयहरु यहाँ प्रवेश पाउन् । कार्यालयहरु ल्याउने काममा प्रदेश सरकार लागोस् ।’
भालुबाङ क्षेत्रको विकासको लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष टोपबहादुर कार्कीले बताए । ‘राजधानी त घोषणा भयो । आयो पनि । अब यहाँको विकासको योजना बन्नुपर्छ’उनले भने,‘सबैसँग हातेमालो गरेर योजनाहरु बनाइयोस्।’
भालुबाङलाई आधार मानेर सरकार चलाउन स्थानीय गञ्जबहादुर बिष्टले माग राखे । ‘अब सरकार र सदनले यतैबाट काम गर्ने वातावरण बनाइनुपर्छ’ उनले भने, ‘यती मात्रै होइन, प्रदेशको राजधानीमा आउने सबै पाहुनाहरुलाई सेवा र सत्कारको भावनाले स्वागत गर्नुपर्छ।’
भालुबाङ बजार दाङकै पुरानो बजार हो । यो बजारले धेरै इतिहास बोकेको छ।
राप्ती नदीको तटीय क्षेत्रमा आधुनिक शहर बसाल्ने कल्पना गरेर सरकारले प्यूठान, अर्घाखाँची, गुल्मी, कपिलवस्तु जिल्लाको संगम स्थलमा प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । देउखुरीलाई प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रादेशिक स्थायी राजधानी पारित गरेको हो।