अर्घाखाँचीमा व्यावसायिक अनार खेतीको सम्भावना कस्तो छ, साथै अनारखेती बारे सम्पुर्ण जानकारी जानिराखौ

अशोक टन्डन 
अर्घाखाँची
अनार एक बहुउपयोगी फल हो। यसलाई सामान्य भाषामा दारिम पनि भन्ने गरिन्छ। पुनीकेसि(एगलष्अबअभबभ)परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेती हुदै आएको पाईन्छ। युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट, एशियाको अफगानिस्थान वेलाचिस्थान,चीन, जापान, तथा संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक रुपमा खेती गरेको पाईन्छ ।
यस्को इतिहाँसलाई हेर्दा अनारको उत्तपत्ति इरानमा भएको मानिन्छ । नेपालको हावापानी तथा माटोको अवस्थालाई हेर्दा अनारको खेति डढेलधुरा, डोटी, आछाम, दैलेख, सुर्खेत, दाँड.,अर्घाखाँचि, पर्वत, नवलपरासि, तनहु, गोर्खा, धादिड., नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीदेखि पुर्वको ओखलढुंगा, भोजपुर, धनकुटा, इलाम सम्म समुन्द्र सतहवाट १८५० मीटर उचाइ सम्मको मध्य पहाडको उपोष्ण हावापानीयुक्त क्षेत्रमा सफलता साथ गर्न सकिन्छ । 
यस्को स्थानीय जातलाई दारिम भनिन्छ । अनारको खेतीले नेपालमा पनि विस्तारै व्यवसायिक रुप लिन थालेको देखिन्छ । गुणस्तरीय फल उत्पादनको लागि यसलाई लामो समयसम्म सुख्खा र तातो मौसमको आवश्यकता पर्दछ। लामो समयसम्म घाम लाग्ने, बसन्त ऋतु केहि सुख्खा हुने र हिउँद चिसो हुने स्थान बढी उपयुक्त मानिन्छ। नेपालका विभिन्न जिल्लालाई  अनार उत्पादन पकेट क्षेत्र घोषणा गरेपनी हालसम्म नेपालमा अनार उत्पादन व्यावसायिक नहुदा भारत लगायत अन्य देशबाट आयात गरि ल्याउनु परेको छ । पहाडी केही जिल्लामा भने अहिले व्यावसायिक उत्पादनको सुरुवात भने थालनी गरिएको छ।
अर्घाखाँची जिल्ला पनि यस्को व्यावसायिक उत्पादन गर्न उपयुक्त हावापानी भएपनि हालसम्म व्यावसायिक उत्पादनको थालनी गरिएको छैन। अर्घाखाँचीमा हालसम्म निर्वाहमुखी उत्पादन जस्तो भएपनी जिल्लामै खपत हुने अनार बाहिरबाट ल्याउनु परेको छ। जिल्लामा बार्षिक करोडौंको अनार आयात गरि ल्याउनु  परेको छ । यसको खेती समुद्र सतहबाट ५०० देखि १४०० मिटरसम्म सफलताका साथ गरेको पाईएको छ। अनार फूल्न र फल्नको लागि आवश्यक पर्ने हिउँदमा ठण्डी र बाँकी समयमा गर्मी मौसम नेपालको हिमाली क्षेत्र बाहेक सबै भू-भागमा खेती गर्न सकिन्छ । यस्को हिसाबले हेर्दा पनि अर्घाखाँची जिल्ला अनार खेतिको पकेट क्षेत्र बनाउन सकिने प्रशस्त सम्भावना  छन् । अनारको बगैंचा तराईको समथर जमिन देखि मध्य-पहाडको भिरालो जग्गासम्म लगाउन सकिने हुँदा समथर जमिनमा वर्गाकार/आयताकार/त्रिभुजाकार तरिकाबाट उपयुक्त हुन्छ भने पहाडी भिरालो जमिनमा गह्रा-कान्ला/कन्टुर तरिका अपनाउनु उपयुक्त हुन्छ। यस्ता जग्गा प्रयाप्त भएको हुँदा अर्घाखाँचीमा व्यावसायिक अनार उत्पादन गर्ने आधार हरु  छन ।
हावापानी ,मल बीउ र औसधि 
 हिउँदको मौसममा अनार सुषुप्त अवस्थामा रहने भएकोले १० डिग्री सेल्सियस भन्दा तलको तापक्रमले पनि नोक्सान पुर्‍याउँदैन तर फल बढ्ने र पाक्ने समयमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा घामले डढेका दागहरु देखिन्छ। अनार बालीले अन्य फलफूल बालीको तुलनामा सुख्खा सहन सक्दछ। यसको विशेषता के छ भने न्यानो हावापानी भएको क्षेत्रमा यो सदाबहार हुन्छ भने चिसो क्षेत्रमा पतझड हुन्छ।
वर्षातको समयमा पानी नजम्ने, ५.५ देखि ६.५ सम्मको पि.एच. मान भएको हल्का अम्लिय, गहिरो गरी जरा जानसक्ने दोमट माटो नै उपयुक्त हुन्छ। हावापानीको दृष्टिकोणले उपयुक्त ठहरिएको क्षेत्रमा माटो जाँच गर्दा माटोमा अम्लय वा क्षारियपन बढी देखिएमा अम्लिय माटोमा कृषि चुन तथा क्षारिय माटोमा सिफारिश अनुरुपको जिप्सम प्रयोग गरेर माटो सुधार गरी यसको खेती गर्न सकिन्छ।
सामान्यतया अनारका बोटहरु धेरै वर्षसम्म नै वृद्धि भैरहने हुँदा कम्तिमा ४ X ४ मिटरको दूरि कायम गर्नु पर्दछ । साधारणतया १ घनमिटरको खाड्ल खन्नु पर्दछ तर ढुङ्गा, गेग्रान नभएको ठाउँहरुमा ६० x ६० x ६० से.मि. को खाड्ल भएपनि बिरुवा रोप्न सकिन्छ। बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्ड भएन भने बिरुवालाई उचित स्थान कायम गरी रोप्न सकिन्न। यसको प्रयोग खाड्ल खन्न तथा बिरुवा रोप्ने बेलामा आवश्यकता पर्द्छ। अनारको सानो बोटलाई सिंचाईको आवश्यकता हुन्छ तर हुर्की सकेको र पूराना बोटहरुलाई सिंचाईको सुविधा नभएपनि फल उत्पादनमा बाधा पुग्दैन। अनारको बोटलाई उमेर अनुसार खाद्यतत्वको मात्रा फरक पर्दछ। उदाहरणको लागि १ वर्षे बिरुवाको लागि १० के.जी. कम्पोष्ट मल, ६० ग्राम नाईट्रोजन, ३० ग्राम फोस्फोरस र ३० ग्राम पोटास सिफारिश गरिएको हुन्छ भने ५ वर्ष भन्दा माथिका बोटलाई ५० के.जी. कम्पोष्ट मल, ३५० ग्राम नाईट्रोजन,२५० ग्राम फोस्फोरस र २५० ग्राम पोटास सिफारिश गरिएको हुन्छ।
जातहरु र बिरुवा उत्पादन 
हाल नेपालमा अनारको खेती बढ्दो क्रममा छ र विभिन्न भौगोलिक क्षेत्रमा विभिन्न जातहरुको खेती हुँदै आएको छ जसमध्ये मृदुला,गणेश,सिन्दुरी, बेदाना,कान्धारी,मस्कट रेड,रुबी,वण्डरफुल आदि मुख्य हुन्। अनारको बिरुवा बीउ वा बानस्पतिक दुबै तरिकाबाट उत्पादन गर्न सकिन्छ। नेपालमा यी दुबै तरिकाहरु अपनाउँदै आइएको छ। बीउबाट उत्पादन गरिएका अनारका बिरुवाहरु स्वयं परागसेचन मात्र नभै आंशिक वा पूर्ण परागसेचन पनि हुने हुँदा जातिय शुद्धता नभै फलमा एकरुपता हुँदैन। बीजु बिरुवा भएकोले फल पनि ढिलो उत्पादन हुन्छ। कलमी तरिकाले बिरुवा उत्पादन गर्न लेयरिङ्ग तथा कटिङ्ग दुबै तरिकाहरु अपनाईन्छ तर कटिङ्ग तरिका नै सरल र धेरै उत्पादन गर्न सकिने विधि साबित भएको छ ।अनारको कटिङ्ग जहिले पनि सुषुप्त अवस्था वा सुषुप्तबाट सुषुप्तको अन्तिम अवस्थासम्म (पुष-माघ) मा सार्न उपयुक्त हुन्छ। कटिङ्गको प्रत्येक टुक्रामा ५-६ वटा आँख्ला हुन जरुरी हुन्छ जस मध्ये २-३ वटा आँख्ला जमिन मुनि र २-३ वटा आँख्ला जमिन माथि हुनु जरुरी हुन्छ।
 अनारको बगैंचामा अन्तरबाली 
समथर जमिनमा लगाईएको बगैंचामा अतिरिक्त बिरुवा (Filler Plants) को रुपमा बेसार, अदुवा, काउली, बन्दा, मूलाआदि लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ। 
 काटछाँट , तालिम र भणडार 

–  अनारमा एकै पटक प्रशस्त
काँडाहरुको विकास हुन्छ। काटछाँट र तालिमको माध्यमबाट बोटलाई एउटै काण्डमा वा ३-४ वटा काण्डमा विकसित हुने गरी तालिम गर्न सकिन्छ।रोगकीरा लागेका, एक आपसमा टाँस्सिएका हाँगाहरुलाई फल टिपेपछि वा हिउँदमा काटेर हटाउनु पर्दछ। अनारका केहि जातरुमा फलहरु पहेंलो रङ्गमा बदलिन्छन्। छिप्पिएका फललाई औंलाले फट्कारेर हाने भने धातुको भाँडा बजे जस्तै आवाज आउँछ। बीउको बाहिरी भागको रङ्ग रातो हुन्छ। भण्डारण गर्दा कुहिने रोगबाट बचाउन ०.२% को बेभिष्टिनले उपचार गर्नु पर्दछ। धेरै मात्रामा फलहरु भण्डारण गर्नु पर्दा फललाई काठको बाकस कागजले लपेटेर तह तह गरी राख्नु पर्दछ। साधारण अवस्थामा पनि अनारलाई अरु फलको तुलनामा बढी समयसम्म भण्डारण गर्न सकिन्छ।

अनारमा लाग्ने रोग र निवारण 
अनारको सबैभन्दा हानिकारक कीरा अनारको पुतली हो। पुतलीले फलको बोक्राको भित्रपट्टी फूल पारेर छोड्छ र फलको विकासको साथै फुलबाटलार्भाको विकास गरी भित्र भित्रै फललाई खान शुरु गर्दछ। अन्त्यमा प्वाल पारेर पुतली बाहिर निस्कन्छ। अनार फललाई कपडा,प्लाष्टिकवा कागजको थैलाले ढाकिदिनु सबै भन्दा उत्तम उपाय हो। कुनै कुनै अवस्थामा मेटासिड ०.५% वा सेभिन ०.२% १०-१५ दिनको अन्तरालमा छरेर पनि कीरालाई नियन्त्रण गर्न सकिन्छ। यसले बोटको काँड र हाँगाहरुमा प्वाल पारेर भित्रभित्रै खाई रहेको हुन्छ। आक्रमण बढी भएमा फल उत्पादन हुन छोड्छ र बोटहरु कमजोर भएर जान्छ। कीराले बनाएको प्वालमा तारले घोचेर वा रुईलाई पेट्रोल/फर्मालिन/मट्टीतेलमा चोपेर प्वालमा राखी लेसिलो माटो वा मैनले प्वाललाई टालेर गवारो कीरालाई नियन्त्रण गर्न सकिन्छ। कीराले बोटको फेद वरपर जमिनमा फूल पार्ने हुँदा गर्मी महिनामा बोटको वरिपरि खनेर फूलहरु नष्ट गर्न सकिन्छ। हिउँद महिनामा चिल्लो पदार्थ ग्रिज वा रोजिन र काष्टरको तेल बोटको वरिपरि लगाई कीरालाई बोटमा माथि जानबाट रोक लगाउन सकिन्छ। यस कीरालाई नियन्त्रण गर्न प्राकृतिक परजीविको प्रयोग गर्न सकिन्छ। अनारमा फलको थोप्ले, पातको थोप्ले, फल कुहिने जस्ता रोगहरु देखा पर्दछन्। यी रोगहरु मध्ये फल कुहिने रोग सबैभन्दा खतरनाक हो। यस रोगमा फलको तलपट्टी कालो वा छेउतिरबाट सुकेजस्तो दाग बढ्दै जान्छ। साता दस दिनमा लगभग आधा फल कुहिएर नष्ट भै झर्छ। साधारणतया क्याप्टान ५०० ग्राम २०० लिटर पानीमा मिसाई १०-१५ दिनको अन्तरालमा छर्नु पर्दछ र बगैंचालाई रोगी हाँगाबिँगा, फल आदि हटाई सधैं सफा राख्नु पर्दछ।
फल फुट्ने कुरामा विभिन्न मतहरु पाईन्छ। कसैको भनाईमा सुख्खा वातावरण र माटोको चिस्यान कम भएमा फलहरु फुट्छन् भने कसैको भनाईमा सुख्खा माटोको वातावरण पछि सिंचाई गरेमा फलहरु फुट्दछन्। फल फुट्ने क्रिया बोरोनको कमी भएमा वा जातिय स्वभावको कारणले पनि फुट्न सक्दछ। यसको नियन्त्रण गर्न माटोमा चिस्यान कायम राखी क्याल्सियम र बोरोन सुक्ष्मतत्व दिँदै गरेमा फल फुट्ने क्रियालाई नियन्त्रण गर्न सकिन्छ। 
अर्घाखाँचीमा यस्को परम्परागत रुपमा केही खेती  हुने भएपनी हालसम्म व्यावसायिक खेती हुन सकेको छैन। हजारौं संख्यामा युवाहरु वैदेशिक रोजगारी गर्न गएका छ्न तर यस्को व्यावसायिक उत्पादन गरि ब्यबसाय गर्ने सोच हालसम्म नपलाएको हुँदा नत आर्थिक उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकियो  अर्कोतिर आयातित गरेर ल्याएको करोडौंको अनार उपभोग गर्ने प्रचलन बढ्यो । यसलाई व्यावसायिक उत्पादनमा जोड दिई रोजगारी सिर्जना तथा आर्थिक उन्नति गर्न सकिन्छ भन्ने बाटो सरोकारवालाले  तय गर्दिए पक्कै अनार उत्पादनबाट अर्घाखाँची जिल्लाको आर्थिक समृद्धि हासिल हुन सक्थो कि!