कुलेन्द्र विक
बाँके । हिन्दुहरुको महान चाड बडा दशैंमा रोजगारको शिलसिलमा भारतका बिभिन्न ठाँउमा गएका नेपालीहरु घर आउने गथ्ये तर अहिले कोरोनाको कहरमा घर फर्केका नेपाली बिहान बेलुका हात मुख जोर्न जमुनहा नाका हुदै भारत जानेको घुईचो रहेको छ ।
चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपालगन्जको सीमानाका जमुनहामा प्रत्येक दिन लर्को लाग्ने गरेको छ ।
विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ ।
यहाँस्थित नेपाल भारत नाका जमुनाह ईलाका प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले दशैं शुरु भैसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको बताउनु भयो । अहिले दैनिक तीन सयदेखि चार सयको हाराहारीमा नेपालीहरु रोजगारीका लागि भारत छिरिरहेका छन् ।
जमुनाह नाकामा उनिहरुको नाम ठेगाना लगायतको सबै विवरण राखेर मात्रै भारत जान दिइएको सई गिरीले जानकारी दिनुभयो ।