गुल्मीको इस्मामा १५ हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण हुँदै

गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा सहिद लखन थापाको नामबाट फुटबल रंगशालाको निर्माण सुरू भएको छ।
गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रंगशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो। 
‘सहिद लखन थापा स्मृति रंगशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्‌मार्फत रंगशालाको पहिलो चरणको काम सम्पन्न भएको छ। रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७४-०७५ मा उपभोक्तामार्फत रु. १८ लाख र आव २०७५-०७६ मा रु. दुई करोड ८० लाख खर्च भएको छ। 
दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले बोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए।
खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ। कूल १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ। सो रंगशालालाई मदन भण्डारी राजमार्गले छोएको छ।
रंगशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन्।
गाउँमै अन्तरराष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन् । 
“रंगशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्”, स्थानीयवासी बोमलाल भण्डारीले भने, “सकेसम्म छिटै निर्माण सम्पन्न भए हुन्थ्यो।” सेटोपाटीमा समाचार छ । 

अन्य समाचारहरु