कोरोनाको खोप आविष्कार भएको खबरसँगै सुनको मूल्यमा भारी गिरावट

कोरोना भाइरसविरुद्ध आविष्कार भएको खोपले ९० प्रतिशत सफलता हात पारेको दाबीसहितका खबर सार्वजनिक भएलगत्तै विश्वबजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।
नेपालमा सुनको मूल्यमा आज (मंगलबार) एकैदिन प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
छापावाल सुन सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि मंगलबार ७० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने खबरले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको र त्यसको असर नेपालमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए।
उनले अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको असर पनि सुन बजारमा परेको बताए।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पहिलो प्राथमिकता कोभिडमाथिको विजय भएकोले सुनमा गरिएको लगानी फिर्ता हुने हाेडबाजी सुरु भएकाे उनले बताए।
‘कोरोनाविरुद्धकाे खोप बजारमा आउने खबरसँगै सबै खालका व्यवसाय चल्ने आशाले सुनमा गरिने लगानी फिर्ता हुँदा मूल्य घटेको छ’, शाक्यले भने, ‘एकाएक विश्व अर्थतन्त्रमा नै हलचल मच्चिएको छ।’
उनले केही समय अब सुनको मूल्य निरन्तर ओरालो लाग्ने अनुमान गरिए पनि कतिसम्म घट्ने छ भन्ने कुरा यसै भन्न नसकिने बताए। तर नेपाली बजारमा प्रतितोला ९० हजार रुपैयाँ सम्ममा गिरावट हुन सक्ने अनुमान गरिएको उनले बताए।
‘बढीमा प्रतितोला ९० हजार रुपैयाँसम्म हुने गरी सुनको मूल्य घट्न सक्छ’, उनले भने ‘तोलाको ७०–७५ हजारसम्म कायम रहन आउला भनेर अनुमान गरेका छैनौँ।’
उनले मूल्य घटे पनि सुन किन्न सक्ने गरी मानिसहरुको अर्थोपार्जन हुन गाह्रो भएकोले कारोबार बढ्ने अपेक्षा भने नगरिएको बताए।
कोभिडविरुद्धको खोपले सुनमा लुक्न आएको पैसा बजारमा निस्कने तर अरु व्यवसायहरुले छिट्टै सुखद परिणाम दिन सक्नेछन् भन्ने आशा गर्न नसकिएकाे उनले बताए ।
आविष्कार भएको खोप नेपालसम्म आइपुग्न समय लाग्ने भएकोले पनि नेपाली बजारमा धेरै प्रभाव नपर्न उनको तर्क छ।
अमेरिकाको फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) लाग्नबाट जोगाउने दाबी गरेका छन्।
अमेरिकामा पहिलो पटक गरिएको परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यी कम्पनीले आफ्नो खोप भरपर्दो भएको दाबी गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन्।
याे खबर सार्वजनिक भएलगत्तै सुनकाे मूल्यमा भारी गिरावट आएकाे हाे। देशसन्चारमा समाचार छ ।