रूपन्देहीमा युवतीको बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ

भगवती पाण्डे सेतोपाटी
युवतीको बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा रूपन्देहीमा एक प्रहरी जवान पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै संगठन अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षिय सुरेश कठारिया (थारु) लाई १९ वर्षिय युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले शनिबार बिहान करिब ५ बजेतिर तिलोत्तमाको कुमारीकी ती युवतीलाई बलात्कार पछि हत्या प्रयास गरी फरार रहेको अवस्थामा आईतबार रुपन्देहीकै मंगलापुरबाट पक्राउ परेको जानकारी दिए।
युवती र आरोपित थारूको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। प्रहरी जवानले युवतीलाई विभिन्न प्रलोभन देखाउँदै पटकपटक भेट्न दबाब दिंदै आएको र शनिबार बिहान भेटेर ललाईफकाई बलात्कार गरी हत्या प्रयास गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 
प्रहरी नायब उपरीक्षक राठोरका अनुसार ललाईफकाई बलात्कार गरेको पोल खुल्ने डरले थारूले झोलाको फिताले घाँटी कसेर हत्या प्रयास गरेका थिए। केहिबेर घाँटी कसेपछि बेहोस भएकी युवतीको मृत्यु भएको ठानेर नजिकैको खाडलमा फालेर थारू हिँडेका थिए।
केहीबेरमा होस् खुलेपछि पीडित युवती शरीरभरी चोट र घाँटीमा निलडाम सहित गाउँलेको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि गाउलेले ती युवतीलाई अस्पताल पुर्‍याएपछि घटना सार्वजनिक भएको हो। 
युवतीको बयान र उनको परिवारको किटानी जाहेरीपछि प्रहरीले आरोपित थारुलाई पक्राउ गरि बलात्कार तथा हत्या प्रयास उद्योगमा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेका थारुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अगाडि बढाईएको छ भने युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 
प्रहरी नायब उपरीक्षक राठोरले अहिले युवतीको विक्षिप्त अवस्थामा उपचार भईरहेकोले पहिले उपचारपछि थप सोधपुछ गरेर घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए। 

अन्य समाचारहरु