मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


अर्घाखाँचीडट्कम संवाददाता 

अर्घाखाँचीडट्कम संवाददाता ( रुपन्देही)-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् । 

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।

मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री पोखरेलले ४१ मत मात्र ल्याए पुग्ने अवस्था बनेको हो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई ‘फ्लोर क्रस’ हुनबाट कसरी रोक्ने भन्ने चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

अन्य समाचारहरु