लकडाउनको मौका छोपेर कपिलवस्तुको बुद्धभुमी स्थित चङ्घाट नदी दोहन (भिडियो सहित)
जेष्ठ १३ गते, २०७८ मा प्रकाशित
अर्घाखाँची डट्कम संवाददाता
बुद्धभुमी, कपिलवस्तु (अर्घाखाँचीडट्कम) जेठ १३ बिहीवार । कोरोना माहामारीका बेला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड नम्बर १ स्थित चङ्घाटको नदीमा रातीको समयमा पनि बिगत केहि दिन यता एक्साभेटरको प्रयोग गरी नदी दोहन भईरहेको छ ।
लकडाउन तथा बन्दाबन्दिले आम नागरिक घरभित्र खुम्चिरहेका बेला केही ठेकेदार पक्ष भने नदीको दोहनमा तल्लिन देखिएका छन् ।
खोलामा एक्साभेटरको प्रयोगबाट नदीजन्य पदार्थ (गिटी तथा मिस्कट) उत्खनन भईरहेको हो । नियमानुसार नदी जन्य पदार्थको उत्खननमा जेसिबी र एक्साभेटरको प्रयोग अवैधानिक मानिन्छ तर चङ्घाट खोलामा प्रयोग भईरहेको एक्साभेटरको बारेमा सम्बन्धित निकाय भने मौन छन् । यहाँका प्रशासनिक निकायहरु पनि यस्तो कार्य नदेखेजस्तो गर्नुले थप अनियमितताको शंका गर्न सकिन्छ ।
गए राति करिब ११बजे को समयमा करिब ८,१० वटा टिप्पर र स्काभेटर प्रयोग गरि रात भर मिस्कट ओसारेर बिहान ६ बजे खोलाबाट निस्किएको नाम नखुल्ने शर्तमा स्थानिय युवाले बताए ।
उता स्थानीयका अनुसार गाउँका केही अगुवाहरुको समेत मिलेमतोमा नदि दोहन भइरहेको र यस अबैधानिक कार्यलाई तुरुन्त रोक्न सम्बन्धित निकायसँग कुरा राख्नु पर्ने बताएका छन ।