महिनावारी, हाम्रो समाज र मेरो अनुभव



निरु आचार्य “नवरश्मी ” | अर्घाखाँची, हाल काठमाडौं
महिनावारी महिलाहरूमा हुने एक प्राकृतिक प्रक्रिया हो। शारीरिक परिवर्तन मध्येको एक परिवर्तन पनि हो। हाम्रो शरीरमा भएका हर्मोन, रागरसहरुको मात्रामा आउने परिवर्तनका कारणले महिनावारी हुने गर्दछ । महिनावारी हुनु भनेको एउटि केटि/ छोरी हरेक महिना गर्भवती हुन तयार हुने संकेत पनि हो । साधारणतया महिनावारी ११/१२ बर्षदेखि १४/१५ बर्षको उमेरमा हुने गर्दछ । यो खासगरी २८दिनदेखि ३०/३२दिनसम्मको हुने गर्दछ र यो चक्र ४५/५० बर्ष भित्रमा सकिने गर्दछ । सामान्यतया महिनावारी ४देखि ७ दिनसम्म बारिदै आएको छ ।ग्रामीण क्षेत्रको तुलनामा शहरीया क्षेत्रमा केहि परिवर्तन आएता पनि ब्याबहारिक रुपमा फरकपना पाइदैन । एउटि केटी पहिलो पटक महिनावारी हुदा लामो दिन (१८/२० ) सम्म बारिने चलन रहिआएको छ । अझ पश्चिमी भेगतिर हेर्ने हो भने अझैपनि २०/२२दिनसम्म छाउगोठ बस्नुपर्ने, जसको कारणले गर्दा महिलाहरु जंगली जिवजन्तुहरुबाट मारिने तथा अपराधीक क्रियाकलापमा सम्लग्न ब्यक्तिहरुबाट बलात्कृत भइ अकालमै ज्यान गुमाएको हामी देख्ने तथा सुन्ने गरेका छौं । 
सरकारि , गैरसरकारी तथा विभिन्न महिलामैत्री संघ सस्थाहरुले महिनावारीको बारेमा सचेतता फैलाउने विभिन्न कार्यक्रमहरु गर्दै आएतापनि अझैपनि परापुर्वकालदेखि चलिआएको चलन भन्दै मानसिकता तथा सोचाइमा पुर्णरुपमा परिवर्तन आउन सकेको छैन । जातीयताको हिसाबले अझैपनि समाजमा जसरि बिभेद गरिन्छ त्यसैगरी महिनावारीको समयमा पनि महिलाहरुले बिभेद सहेर बस्नुपरेको छ ।के महिनावारी हुदा बार्नुनै पर्छ त ? के महिनावारी हुदा भान्छा देखि लिएर बैठक कोठासम्म जान मिल्दैन त ? हो यि र यस्ता प्रश्नहरुको बारेमा आम युवाबर्गले बहस चलाउनु आवश्यक छ । अझ भन्ने हो भने पुरुषबर्गले भन्दा महिलाहरुले नै महिनावारी बार्नुपर्छ,ब्रतबन्ध गरेका भाइ दाइहरु तथा बुबाहरुलाइ छुनु हुदैन ,छोए पाप लाग्दछ भन्ने मानसिकता अझैपनि समाजमा छचल्किएको छ ।महिनावारी हुदा अरुबेला भन्दा छुट्टै कपडा लगाउनुपर्ने ,छुट्टै बिस्तारा बनाएर सुत्नुपर्ने ,घिउ ,दुध दहि खान नहुने अझैपनि सोच महिलाहरुमा नै रहिआएको छ । 
पुराना पुस्ता आमा हजुरआमाहरुले घरमा जे जसरी महिनावारी बार्दै आउनुभएको थियो त्यसरि नै अहिलेको नयाँ पुस्तालाई नदाजेतापनि सोच पुर्ण रुपमा सकारात्मक भइसकेको पाइदैन ।महिनावारीको समयमा मन्दिर जान नहुने , पुजा पाठमा समाबेश हुन नहुने , यदि मन्दिर गइयो भने पाप लाग्ने हो त ? यस्को बारेमा पनि युवाबर्गहरुले बहसको विषय बनाइ सचेतना जगाउनु जरुरी छ । विभिन्न राष्ट्रिय पत्रपत्रिका तथा टेलिभिजनमा चर्चित सेलेब्रेटिहरुसङ्ग महिनावारीको बारेमा बहस ,छ्लफल चलाउदा अझैपनि उनिहरुले घरमा बुबा वा दाइभाइभन्दा आमाहरुले नै बार्नुपर्छ , हामीहरुले पनि बारेको हो ,नबारे पाप लाग्छ भन्नुहुन्छ भन्ने तर्क हामीले पनि सुन्न र देख्न पाएका छौं । मलाई प्रश्न गर्न मन लाग्छ ..के महिनावारी हुनु गलत हो त ?यदि गलत हो छुनुहुदैन भने सृष्टि कसरि चल्छ ? आखिर महिनावारी नभएको नारिले के बच्चा जन्माउन सक्छिन त ?आखिर किन महिनावारी हुदा फरक नजरले हेरिन्छ र अरुबेला भन्दा फरक व्यबहार गरिन्छ ?? के अझैपनि सोचाइमा परिवर्तन आउनु पर्दैन र ??हो एस्तै प्रश्नहरुले मनमा डुबुल्कि मारिरहन्छ्न । 
अर्घाखाँची जिल्लामा जन्म लिएकि म ,त्यहि समाजमा हुर्किएकि म , स्कुल पढ्दा साथीहरुले पहिलो पटक महिनावारी भएर २०/२२दिनसम्म कुनामा बसि बारेका कुरा सुन्दा अचम्म लाग्थ्यो । ब्राह्मण / पण्डितको घरमा जन्मिएकि म ,अरुको घरमा भन्दा हाम्रो घरमा छोरीलाई हर्ने नजर फरक जस्तो लाग्थ्यो । महिनावारी सामान्य प्रक्रिया हो ,सरसफाइ गर्नुपर्छ ,लुक्नुहुदैन ,बाहिर घाम ताप्नुपर्छ ,पोस्टिक आहारहरु अरुबेला भन्दा झन खानुपर्छ भन्ने हाम्रो बुबाको सोचाइ थियो र हामीलाई पनि त्यहि किसिमको व्यबहार गर्नुहुन्थ्यो । बुबाको फरक सोचले पनि होला हामी पहिलो पटक महिनावारी हुदा कतै लुक्नु परेन ,लामो समयसम्म पनि बार्नुपरेन अनि हामिहरुले अरुले भन्दा केहि फरक तरिकाले महिनावारीको दिन कटाउथ्यो । स्कुलमा स्वास्थशिक्षा पढ्दापनि शिक्षकहरुले यौन तथा महिनावारीको विषयमा पढाउनुपर्ने बेला हुदा राम्रोसङ्ग पढाउनुहुन्थेन , तिमि हरु आफै पढ नत बुझिहाल्छौ नि भनेर टार्नुहुन्थ्यो । के यौन तथा महिनावारीका विषयमा अरु विषयमा झै खुलेर ,सामान्य तरिकाले पढाउनुपर्दैन ? के विद्यार्थीहरुलाइ यौन शिक्षाको बारेमा बुझाउनुपर्दैन र ? आज पनि मेरो मनमा यि र यस्तै प्रश्नहरुले उत्तर खोजिरहन्छ्न तिनै शिक्षकहरुमाथि ??? शरीरका हरेक अङ्गहरु जस्तै यौन अंग पनि दैनिक रुपमा सफा गरिरहनुपर्दछ , सफा गरिएन भने विभिन्न रोगको संक्रमण भइ पाठेघरको क्यान्सर सम्म हुन सक्छ भनेर किन सिकाएन हामीलाई ?? यौन शिक्षाको बारेमा न त घरमा राम्रोसङ्ग सिकाइयो नत स्कुल तथा सामाजिक कार्यक्रमहरुमा सिकाइयो ??के यौन शिक्षाको बारेमा बोल्दा इज्जत जाने , मान घट्ने हो त ? यि र यस्ता प्रश्नहरुको उत्तर खुलेर पढाइयो भने दैनिक रुपमा हुने दुधे बालिका देखि लिएर किशोरीहरु बलात्कृत भइ अकालमै मर्नु पर्दैन थ्यो कि ? 
त्यसैले अब यौन शिक्षाको बारेमा बिद्यालय देखि लिएर परिवार तथा समाजमा खुलेर जानकारि दिनुपर्दछ जसले गर्दा बालबालिकाहरुले सामान्य रुपमा लिन सिक्दछ्न र विभिन्न रोगहरु लाग्नबाट सजिलै बच्न सक्दछ्न । सरकारले महिनावारीको समयमा लगाउने प्याड हरेक शैक्षिक संस्थाहरुमा निशुल्क गरिदिएता पनि सहरि क्षेत्र, सुगम गाउँहरुमा मात्र कार्यन्वयन गरेता पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरुमा सैद्धान्तिक रुपमा जति कानुनमा लेखिएता पनि ब्याबहारिक रुपमा न त महिला मैत्री शौचालय ,न त पानी ,न त डस्बिनको को कारणले गर्दा महिनावारीको समयमा किशोरीहरु बिध्यालय अध्ययन गर्न जादैनन । तसर्थ समाजमा महिला तथा दिदिबहिनीहरुलाई समय समयमा महिनावारी तथा यौन शिक्षाको बारेमा सन्देशमुलक कार्यक्रमहरुमा सहभागी गराइयो भने महिलामा केहL हदसम्म सचेतता ल्याउन सकिन्छ र अकालमै मृत्यु हुनबाट जोगाउन सकिन्छ त्यसैले यौन शिक्षाको बारेमा हरेक बिद्यालयहरुमा खुलेर पढाई यसलाई सामान्यिकरण गर्नु आजको आवश्यकता हो  ।