रेखीराम राना गोरखापत्र
पाल्पा, साउन २६ गते । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्डको तिनाउ–३, हेडबस नजिकै स्कापियो दुर्घटना परेको छ । मङ्गलबार विहान १० बजेतिर पाल्पाबाट बुटवलतर्फ गईरहेको बा. १८ च. ७३३६ नम्बरको स्कापियो तिनाउमा खसेको दोभान प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तिनाउ गाउँपालिका–३, का ५५ वर्षीय बावुराम पाण्डेय, सोही स्थानका २६ वर्षीय विनोद पाण्डेय, सोही स्थानकै २१ वर्षका अमृत पाण्डेय र नवलपरासी जिल्ला गैडाकोट–५ का ३४ वर्षीय गंगबहादुर दराई घाइते हुनुभएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सडक माथिबाट खसेको ढुङ्गासहित स्कापियो एक सय मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । घाइते चारै जनाको रुपन्देही बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।