कृष्णनगर भन्सारमा इन्टरनेट सर्भर डाउन हुँदा समस्या, नाकामा सवारी साधनको लाइन

मनिष गुप्ता रेडियो नेपाल 
कपिलवस्तु । कपिलवस्तुको ठुलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयमा इन्टरनेट सर्भर डाउन हुँदा समस्या सृजना भएको छ । नेपाल प्रवेश गर्ने कार, ट्रक तथा कन्टेनरको सीमावर्ती क्षेत्रमा लामो लाइन लाग्न थालेको छ । एक सय भन्दा बढी सवारी साधन लामबद्ध भई रोकिएको छ ।
मङ्सिरको महिना वैवाहिक कार्य जारी रहँदा नेपाल आउने र नेपालबाट भारत जाने गाडी, तथा मालबहाक ट्रक तथा कन्टेनरको सङ्ख्या बढेको छ । 
कार, ट्रक र कन्टेनर बढे पनि इन्टरनेटको समस्याले गर्दा समयमै जाँचपास नहुँदा समस्या सृजना भएको छ । भन्सार नहुँदा आधा दर्जन जन्तीका सवारी साधन रोकिएको भन्सार एजेन्टहरूले जनाएका छन् ।
इन्टरनेट तथा विद्युतका कारण समस्या हुने गरेको बहाना बनाएर सवारी जाँचपासमा ढिलाइ गरिएको भन्सार गराउन आएका सुरेन्द्र यादवले गुनासो गरेका छन् । 
यता इन्टरनेट बनाउने कार्य जारी रहेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । इन्टरनेटको सर्भर डाउन भएर काममा समस्या भएको भन्सार प्रमुख पौडेले बताउनुभयो ।
इन्टरनेट बनाउने कार्य जारी रहेको उहाँले बताउनुभयो । प्राविधिकहरूको टोली निर्माण कार्यमै रहेकोले इन्टरनेट ठिक हुने बित्तिकै जाचँपास सुरु हुने जानकारी दिनुभयो ।

अन्य समाचारहरु