विद्यार्थीलाई चिट्ठी


 शिक्षक निरज भट्टराई
सनपा -९, अर्घाखाँची
२०७८/१०/०३
प्रिय् बिद्यार्थी भाईबहिनीहरु,
मिठो सम्झना ।
म यहाँ आजको दिन सम्म सन्चै आरामै छु र त्यहाँ तिमीहरुमा स्वास्थ्य एवं आरोग्यको कामना गर्दछु । हामी शिक्षक र बिद्यार्थीहरु भौतिक रुपमा जति टाढा  भएपनि आत्मिय रुपमा निकै  नजिक छौ त्यसैले आज मलाई तिमीहरुको सम्झनामा एउटा पत्र  लेख्ने मन लाग्यो झर्को नमानी पढ्नु ल !
सन् २०१९ को अन्त्य तिर चिनको बुहान शहरमा देखिएको कोरोना भाईरस संक्रमण (कोभिड-१९) अहिले तेस्रो चरणमा प्रवेश गरि नयाँ भेरियन्ट ओमिक्रोन मार्फत बिश्व भरी नै महामारीको रुपमा फैलिएको कुरा सर्वबिधितै होला ? सर्वप्रथम त म यस महामारीका विरुद्ध सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुले साबुन पानीले हात धुने, भिडभाडमा नजाने, माक्स लगाउने जस्ता न्युनतम सचेतनाका उपायहरू अबलम्बन  गरेका नै छौ भन्ने कुरामा म पुर्ण बिश्वस्त छु ।
कोभीड- १९ को महामारीकै कारण तिमीहरु र हामीहरु बिचको भौतिक सम्बन्ध पातलिदै गएको छ । तिमीहरु बिधालयमा अनुपस्थित रहेको पनि लामो समय भै सक्यो। बिधालयमा उपस्थित भै बाल मैत्री बाताबरणमा शिक्षा आर्जन गर्ने कुरा पनि इतिहासका पानामा सिमित हुँदै गइरहेका छन । त्यसैले सर्वप्रथम त म तिमीहरुलाई बिधालयको बारेमा जानकारी गराउदछु ।
 विद्यार्थीको अनुपस्थितिका कारण बिधालयको भौतिक एवं प्राकृतिक बाताबरण  उजाड देखिन्छ । बिधालयमा विद्यार्थीहरुका पदचापका निशानीहरु पनि मेटिइसकेका छन । बिधालयको खेल मैदान र वरपरका क्षेत्रहरू झार बुट्यान र झाँडिले ढाकिसकेका छ्न । बिधालयको प्राङ्गणमा रोपिएका फुल, धुपी लगायत अन्य बिरुवाहरु मलजलको अभावमा सुकिसकेका छन । कक्षा कोठामा लगाईएको ताल्चामा लागेको खियाको कारण ताल्चा नखुलेको पनि लामो समय भइ सक्यो । बिधालयका डेक्स बेन्च , झ्याल ढोका र शैक्षिक सामग्रीहरुमा धमिराले गुँड लगाएका छन । कक्षा कोठामा ढुसि उम्रिएको छ भने भित्ताहरु मक्किएका छन । बिधालय खाजा कार्यक्रमका लागि खरिद गरेको चना र भट्टमास पनि घुन र किराले धुलो बनाइसक्यो । बिधालयका पाले दाईले लगाउने घण्टीको टिनटिन आवाज संगै शुरु हुने बिहानी प्राथनामा रास्ट्रभाव झल्कने गरि मिठो स्वर र लयमा गाईने रास्ट्रिय गान सुन्न नपाएको पनि महिनौं भयो । तिमीहरुमा रहेको अन्तर निहित प्रतिभा प्रस्फुटनका लागि गरिने अतिरिक्त क्रियाकलापहरु एका देशको कथा जस्तो बनिसके । कहिलेकाही अक्कल झुक्कल हुने भेट मा पनि माक्सले छोपिएको अनुहारका कारण तिमीहरुको नाम र अनुहार हाम्रो मन मस्तिष्क बाट टाढा पुगिसक्यो । जसको कारण कतै हाम्रो आत्मिय सम्बन्धमा समेत धक्का लाग्ने हो कि ? भनी बिद्यार्थी र शिक्षक बिचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो पत्र लेख्दै छु ।
विद्यार्थी भाईबहिनीहरु, शायद तिमीहरूले जानकारी प्राप्त गरिसकेका छौ होला । शिक्षा मन्त्रालयको मिति २०७८ पौष २६ गतेको पत्र अनुसार बिधालयमा भौतिक उपस्थितिमा हुने पठन पाठन माघ १५ गते सम्मका लागि बन्द भैसकेको छ । अहिले देशमा कोभीड-१९ को तेस्रो भेरियन्ट ओमिक्रोन, ज्यामितिय अनुपातमा बढिरहेको छ त्यसैले माघ १५ पछि पनि कहिले बिधालय खुल्छ त्यसमा अनिश्चितता नै देखिन्छ । बैकल्पिक सिकाई सहजीकरणको एक माध्यम अनलाइन कक्षा पनि हाम्रो जस्तो ग्रामीण भेगमा रहेका प्रबिधिको पहुँच नपुगेका बिधालय, क्षेत्र तथा गरिब बालबालिका लागि एकातिर केबल हात्तीको देखाउने दाह्रा जस्तो रहेछ भने अर्कोतिर त्यही अनलाइन कक्षाको बहानामा विद्यार्थीहरु बाट प्रबिधिको दुरुपयोग हुने गरेको देखिन्छ यसमा समेत विद्यार्थी भाइ बहिनीहरु सचेत रहनु । तिमीहरूको भौतिक उपस्थितिमा बिधालयमा हुने पठनपाठन बन्द रहेतापनि बार्षिक परिक्षा भने तोकिएकै समयमा हुने सम्भावना प्रवल  रहेकोले सिकाईका निम्न उपायहरू अवलम्बन गरि स्वअध्ययन बिधिलाई प्रभावकारी बनाउने छौ भन्ने कुरामा म पुर्ण बिश्वस्त छु ।
• समय तालिका निर्माण गरि अध्ययन गर्ने ।
• अध्ययनका लागि उपयुक्त स्थान चयन गर्ने ।
• बिच बिचमा केही समय विश्राम लिने ।
• आवश्यक पाठ्यपुस्तक र सन्दर्भ सामाग्री जुटाउने ।
• सम्भव भए आवश्यकता अनुसार प्रबिधिको प्रयोग गर्ने तर दुरुपयोग नगर्ने ।
• उधेश्य निर्धारण गरि पढ्ने ।
• स्व बुझाई र स्व मुल्यांकन गर्ने ।
• पढ्ने भन्दा लेख्ने बानीको बिकास गर्ने ।
• पुराना प्रश्न पत्र खोजी गरि तिनीहरुको हल गर्ने ।
• घर ,टोल र छिमेकमा रहेका पढेलेखेका अभिभावक , अन्य ब्यक्ति वा शिक्षक सँग आवस्यक सहयोग लिने ।
• सम्पुर्ण बिसयगत शिक्षकको फोन नम्बर राख्ने र विषयगत जिज्ञासा भए सम्पर्क गर्ने । आदि ।
प्रिय बिद्यार्थीहरु, अब बिधालयबाट मात्रै सिकाई हुन्छ भन्ने धारणमा परिबर्तन हुनु जरुरी छ । हरेक बालबालिकाका लागि पहिलो पाठशाला घर हो भने अभिभावक गुरु हुनुहुन्छ । हामी शिक्षकले जस्तै अभिभावकहरुले पनि तिमीहरुको उज्ज्वल भबिस्यको कामना सहित उचित मार्गनिर्देशन गर्नुभएको हुन्छ । त्यसैले सधै अभिभावकको आज्ञा पालन गर्ने, पारिवारिक अनुशासनमा रहने उहाँहरुले देखाएको बाटो हिड्ने प्रयत्न गर्नु भन्दै अन्त्यमा अभिभावक ज्यु  प्रतिपनि हार्दिक नमनका साथ सम्पुर्ण विद्यार्थीहरुको उज्ज्वल भबिस्यको कामना सहित अहिलेलाई बिदा ।।
शि. निरज भट्टराई
श्री अर्घा रजस्थल मा बि
 सनपा -९, अर्घा, अर्घाखाँची

 शिक्षक निरज भट्टराई


The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial stance.