छेटु शेर्पा गोरखापत्र
काठमाडौं, फागुन ५ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुक्रबार देखि शुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट शुरुसँगै भैरहवा विमानस्थलको उडान दिनभर ठप्प हुने जनाएको छ ।
निर्माणको अन्तिमचरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान शुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । क्यालिब्रेसन फ्लाइटका क्रममा विहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्ण रुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नु पर्ने भएकाले जहाजको उडान रोक्नु परेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।
प्राधिकरणले यात्रुलाई सहज बनाउन विहान र वेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ । जडित यान्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साडे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलहरु मध्ये पूर्ण रुपमा यान्त्रित हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलनै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।
फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका शुरु हुने प्राधिकरणको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछि अन्तराष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुने छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण शुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्ष लम्विएको थियो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनामा सात अर्ब ३२ करोड खर्च भएको प्राधिकरणले जनाएको छ । विमानस्थल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ । विमानस्थलमा व्यावसायिक उडान शुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप कम हुने प्राधिकरणले जनाएको छ ।