प्युठानको खलंगामा मसालद्धारा एमसीसी खारेजीको माग गर्दै बिशाल जन प्रदर्शन सहित सभा सम्पन्न

माधव खनाल 
खलंगा । प्युठानको सदरमुकाम खलंगामा एमसीसी खारेजीको माग गर्दै बिशाल जन प्रदर्शन सहित सभा सम्पन्न भएको छ।
जिल्ला सदरमुकाम खलंगामा हजारौंको उपस्थितिमा नाराजुलुस सहित बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध सभा गरिएको हो ।
चार वामपन्थी पार्टीले एमसीसी विरुद्धमा जनप्रदर्शन, सभा तथा प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), र नेपाल कम्युनिस्ट पार्टी मालेको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा प्रशासन कार्यालय घेराउ गरिएको थियो ।
सरकारले संसदमा एमसीसी पास गर्न लागिपरेको भन्दै त्यसको विरुद्धमा देशब्यापी विरोध तथा प्रदर्शन गर्ने कार्यक्रम अनुसार प्युठानमा पनि साशक्त आन्दोलन गरिएको राजमो प्युठानले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले एमसीसीका विरुद्धमा आम जनता सडकमा आउनु पर्ने बताउनु भयो । उहाँले देश रहे मात्रै यहाँका पार्टी रहने भन्दै पहिलो कुरा देश, रास्ट्र रहनु पर्नेमा ठूला हात्ती पार्टी भनिनेहरु विदेशीको दलाल बन्न पुगेको आरोप लगाउनु भयो । नेपालका दलालहरु विदेशीको इसरामा चलेको भन्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने उल्लेख गर्नु भयो । शासकहरु नेपाली जनताका अगाडि झुक्ने दिन आउनेमा दाबी गर्नु भयो ।
नेकपा (मसाल)का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल अनुरुप एमसीसी आएको भन्दै पटकपटक नेपाली दलालहरुले नेपाली जनतालाई झुक्याउने गरेको उल्लेख गर्दै देउवा नेतृत्वको सरकारलाई एमसीसी खारेज गर्न चेतावनी दिनुभयो । पैसा भन्दा देश ठूलो भएको भन्दै विष मिसिएको सहयोग आवस्यक नरहेको बताउनु भयो ।
विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेकपा (माले)का जिल्ला सचिव तिल बिक्रम केसीले सम्बोधन गर्नुभएको थियो ।

अन्य समाचारहरु