मालारानी गाउँपालिका- ६ मा एमालेका नारायणप्रसाद अर्याल एक मतले विजयी

लक्ष्मण घिमिरे 

अर्घाखाँची । मालारानी गाउँपालिका–६ को वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेद्वार उदय पुन मगरलाई १ मतले पछी पार्दै अर्याल विजयी बनेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार एमालेका अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने माओवादीका पुनले ८ सय ४८ मत ल्याए । अध्यक्षमा ६४ मत बदर भएका थिए । मत बराबर भएपछि पटक पटक पुनस् गणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरिएको मालारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रमेश पन्थीले बताए । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।

एमाले बाट निर्वाचित अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन हुँदा अर्याल एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

उम्मेद्वारहरुले भने खसेको मत र गणना गरेको मतसंख्यामा फरक परेको भन्दै असन्तुष्टी जनाएका छन् ।

अन्य समाचारहरु