]
जनकपुरधामस्थित रामानन्द चोकमा दर्ताबिनै सञ्चालित नैना हस्पिटलमा चिकित्सकको लापरबाहीका कारण फेरि एक महिलाको मृत्यु भएको छ ।
नर्मल डेलिभरीमा बच्चा जन्माएकी जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगर निवासी दिलिप मण्डलकी श्रीमती विद्याकुमारी मण्डलको चिकित्सकको लापरबाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।
विद्याको मृत्युपछि पीडित परिवार तथा मृतकका आफन्तहरूले हस्पिटलमा हो हल्ला गरेपछि अस्पतालका कर्मचारी तथा चिकित्सकहरू अस्पताल छाडेर भागेका थिए ।
अस्पतालमा कोही नभेटिँदा पीडित परिवारले अस्पताल अगाडि तर रामानन्द चोकमा अस्पताल तथा सम्बन्धित निकायविरुद्ध कारबाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र मृतकका परिवारबीच सामान्य झडपसमेत भएको छ ।