आज निर्वाचन, बिहान ७ बजेदेखि मतदान

 

 

 

आज (मंसिर ४ गते) प्रतिनिध सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान ७ बजे देशभरका मतदान केन्द्रमा एकसाथ मतदान सुरु हुनेछ। मतदान साँझ ५ बजेसम्म हुनेछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ।

यस्तै सरकारले शान्ति, सुरक्षाको अवस्था बलियो बनाइएको उल्लेख गर्दै ढुक्कसँग मतदान गर्न नागरिकलाई आह्वान गरेको छ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दै छन्। कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ।

यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दै छन्।

images

कति छन् उम्मेदवार?
प्रतिनिधि सभाको निर्वाचनमा २ हजार ४१२ जना उम्मेदवारले भाग लिएका छन्।

प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २ हजार ४१२ जना चुनावी मैदानमा छन्। जसमा २ हजार १८७ जना पुरुष र २२५ महिला छन्।

images

यस्तै प्रदेश सभा प्रत्यक्षतर्फ ३३० जना प्रतिनिधिका लागि ३ हजार २२४ जना उम्मेदवार छन्।

images

कसरी गर्ने मतदान?
एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कसरी मतदान गर्ने? कतिपयलाई अझै अन्योल हुन सक्छ।

निर्वाचन आयोगका अनुसार एक जना मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्छ। प्रतिनिधिसभाका लागि २ वटा र प्रदेशसभाका लागि २ वटा मतपत्र हुन्छन्।

दुई छुट्टाछुट्टै निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग गरिने निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिएका छन्।

मतदान गर्ने तरिका
१. मतदान केन्द्रमा गइसकेपछि सबैभन्दा पहिला प्रतिनिधिसभा उम्मेदवारका लागि दिइने मतपत्र अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र दिइन्छ। जुन सेतो मतपत्रमा रातो रङको मसिले छापिएको हुन्छ। यस मतपत्रको कुनै एक निर्वाचन चिन्हमा स्वस्तिक छाप हालेर १ नम्बर लेखेको मतपेटिकामा खसाल्नपर्नेछ।

Nepal life insurance

२. दोस्रो मतपत्रचाहिँ सेतो रङको पृष्ठभूमिमा कालो रङको मसिले छापिएको हुन्छ। यो प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र हो। प्रतिनिधिसभामा कुनै राजनीतिक दलको एक निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने हुन्छ। मतदान गरिसकेपछि २ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ।

३. तेस्रो मतपत्रचाहिँ प्रदेशसभातर्फको हुन्छ। प्रदेशसभामा छान्नपर्ने उम्मेदवार छानेर स्वस्तिक छाप लगाई ३ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ।

४. अन्तिममा, चौंथो मतपत्र यहाँले पाउनुहुनेछ। जुन प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र हो। प्रदेशसभामा हुने राजनीतिक दलहको कुनै एक चिन्हमा स्वस्तिक छाप हानेर ४ नम्बरको मतपेटिकामा मतपत्र खसाल्नपर्ने हुन्छ।