काठमाडौँ — स्थानीय निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट अभिव्यक्त भएजस्तै मत यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने सम्भावना देखिएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने आकलन गरिएको छ ।

मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । यद्यपि मतगणनाको प्रारम्भिक रुझान पनि आउन बाँकी छ । तर, मतदान गरेर फर्किएका मतदाताले दिएको प्रतिक्रियाका आधारमा स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ । गत ७ असारमा घोषणा गरिएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा एक सय ४० र समानुपातिकमा सबै एक सय १० उम्मेदवार उठाएको छ । तर, प्रदेशसभा निर्वाचनमा भने यो दलले भाग लिएको छैन ।
आइतबार भएको निर्वाचनमा दलका सभापति लामिछानेले नै प्रदेशसभातर्फको मतपत्र प्रयोग नै गरेनन् । ‘प्रादेशिक प्रणालीमा समस्या छ, त्यसमा सुधार भएपछि मात्र मतदान गर्छु,’ उनको प्रतिक्रिया थियो ।

मतदाताको मनोविज्ञानलाई राजनीतिक दलले पनि स्वीकार गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । तर नेतृत्वले असन्तुष्टिलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुन सक्छ, कराइबाट उम्केर भुंग्रोमा नफसौं ।’ -कान्तिपुर



