दुर्गा पौडेलद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई, मतदाताप्रति आभार

 

– युग दर्शन 

प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्युठानबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको छ । साथै मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी पौडेलले प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित सूर्य थापा, प्रदेश सभामा निर्वाचित (क) मा निर्वाचित तुलसीराम शर्मा र प्रदेश सभा (ख) मा विजयी हुने सरोज थापा (रोज राणा) लाई बधाई दिनुभएको छ ।

विज्ञप्तिमा पौडेलले प्युठानको समग्र विकासमा सधैँ जनताको साथमा रहने प्रण गर्दै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा र जानजीवनसित जोडिएका समस्याहरूको समाधानमा सधैँ संघर्ष गरिरहने प्रतिवद्धतासमेत जनाउनुभएको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल प्युठानबाट गठबन्धनको उम्मेदवार रही पराजित हुनुभएको थियो । निर्वाचित एमालेका सूर्य थापा ४१ हजार ११८ मत ल्याउँदा पौडेलको ३५ हजार ८४४ मत आएको छ ।

यस्तो छ पौडेलको विज्ञप्ति

हार्दिक आभार
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ४ मंसिर २०७९ मा सामेल भई निर्वाचन सम्पन्न गर्नुहुने सम्पूर्ण प्युठानी जनतालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । गठबन्धन दलका तर्फबाट मलाई प्रतिनिधिसभामा गिलास चिह्नमा मतदान गर्नुभएकोमा सम्पूर्ण मतदाताहरु प्रति आभार प्रकट गर्दछु । चुनाव सफल बनाउन अहोरात्र खटिनुहुने राष्ट्रिय जनमोर्चा तथा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेसपाका नेता तथा कार्यकर्ता साथीहरु, जिल्ला निर्वाचन परिचालन समिति, प्रदेश, पालिका र वडास्तरीय परिचालन समिति र सम्पूर्ण शुभचिन्तक समर्थक सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

यहाँहरुले व्यक्त गर्नुभएको मतले मलाई विजय प्राप्त गर्न सम्भव नभए पनि प्यूठानी जनताको विश्वासलाई मैले सदासर्वदा स्मरण गर्नेछु । प्युठानको समग्र विकासमा म सधैँ जनताको साथमा रहने प्रण गर्दछु । त्यसका साथै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा र जानजीवनसित जोडिएका समस्याहरूको समाधानमा मैले सधैँ संघर्ष गरिरहनेछु ।
अन्तमा यो निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभामा विजयी हुने सूर्य थापा, प्रदेश सभा (क) मा तुलसीराम शर्मा र प्रदेश सभा (ख) मा विजयी हुने सरोज थापा (रोज राणा) लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु धन्यवाद ।

दुर्गा पौडेल
खलंगा प्युठान
उपाध्यक्ष तथा प्रवक्ता, राष्ट्रिय जनमोर्चा

अन्य समाचारहरु