भाषणमा अर्गानिक लबजका कारण चर्चामा रहने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसपटक बाग्लुङ– १ बाट निर्वाचित भएपछि फेरि चर्चामा छन्।

२०७४ को निर्वाचनमा समानुपातिक सूचीमा रहेपनि राष्ट्रिय जनमोर्चाले ३० प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता नपाउने भएपछि उनी सांसद बन्नबाट बञ्चित भएका थिए।

यसपटक भने ८० वर्षको उमेरमा चुनाव जितेर उनले सबैको ध्यान आकर्षित गर्न सफल भए। तर, पहिले–पहिलेजस्तो उनको कुनैपनि भाषण चर्चित चाहिँ भएनन्।
चुनाव जितिसकेपछि उनको चर्चा झन् बढ्नुको कारण प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता उनैले गर्ने सम्भावनाका कारणले हो।
किनभने, शनिबार अपरान्हसम्मको परिणाम अनुसार प्रतिनिधि सभामा निर्वाचित सबैभन्दा बढी उमेरका सांसद उनै हुन्।

हुन त, महोत्तरी– ३ बाट निर्वाचित लोकतान्त्रिक पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरपनि ८० वर्ष पुगिसके। ८०–८० वर्षका यी दुबै सांसद मध्ये कसको उमेर बढी छ, त्यो निक्र्याेल निर्वाचन आयोगको रेकर्डले गरे पछि हुनेछ।
त्यसैले, शनिबार अपरान्हसम्मको परिणाम अनुसार, सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषयमा मूलतः केसी र ठाकुर बीच ‘प्रतिस्पर्धा’ थियो।

तर, दलहरुले समानुपातिक तर्फको सांसद चुनिएपछि प्रतिस्पर्धामा अर्का सिनियर नेता पनि थपिने थिए।
ती नेता हुन्, राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा। राणापनि ८० वर्ष पुगिसकेका छन्। प्राप्त मतका आधारमा राप्रपाले पनि राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने पक्का भइसकेको छ। राणाको नाम समानुपातिक तर्फ पहिलो नम्बरमा रहेकाले उनी पनि प्रतिनिधि सभा सदस्य बन्ने सम्भावना छ।

त्यसैले, राणापनि प्रतिनिधि सभामा चुनिदा केसी, ठाकुर वा राणामध्ये कसले पहिलो बैठकको अध्यक्षता ग्रहण गर्ने भन्ने निक्र्याेल गर्न निर्वाचन आयोगको निर्णय नै कुर्नु पर्ने हुन्थ्यो।
तर, शनिबार (१० मंसिर) मा सर्लाही–२ को अन्तिम निर्वाचन परिणाम आएपछि प्रतिनिधि सभाको सभामुख निर्वाचित नहोउन्जेल सम्म कसले बैठकको अध्यक्षता गर्ने भन्ने कुराको करिव–करिव टुङ्गो लागेको छ।

किनकी, सो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका महिन्द्र राय यादव निर्वाचित भइसकेका छन्, जो निर्वाचन आयोगको रेकर्ड अनुसार केसी, ठाकुर र राणा भन्दा उमेरमा ‘सिनियर’ छन्।
निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको उम्मेदवारहरुको सूचीमा यादव ८५ वर्षको रहेको उल्लेख छ।

प्रत्यक्ष निर्वाचनबाट महिन्द्र राय यादव भन्दा बढी उमेरका कुनै नेता प्रतिनिधि सभामा चुनिने सम्भावना अहिलेका लागि छैन।
समानुपातिकबाट पनि उनीभन्दा बढी उमेर रहेका व्यक्ति चुनिने सम्भावना कम देखिन्छ। त्यसैले, सर्लाही– २ बाट निर्वाचित भएपछि यादवले प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्ने एक्लो दावेदारका रुपमा आफ्नो नाम करिव–करिव पक्का गराइसकेका छन्।

खासमा नागरिकताका आधारमा मात्र यादव ८५ वर्षका देखिए हुन्, वास्तविक उमेर भने उनको त्यति होइन।
‘कुनै कारणवस नागरिकतामा उनको उमेर बढी उल्लेख गरिएको हो, वास्तविक उमेर भन्दा नागरिकताको उमेर बढी भएकाले कति ठाउँमा उनलाई अप्ठेरो पनि पर्यो होला’ स्रोतले भन्यो, ‘तर, नागरिकताको उमेरको फाइदा यसपटक उनलाई हुने देखियो।’ नेपाल खबरले उल्लेख गरेको छ।



