ठाडाका निवर्तमान अध्यक्ष वसन्तकुमार श्रेष्ठले करोडौंको सार्वजनिक जग्गा अतिक्रमण गरेपछि विरोध

वीरेन्द्र केसी कान्तिपुर

ठाडा -अर्घाखाँची — ठाडा गाविसका निवर्तमान अध्यक्ष वसन्तकुमार श्रेष्ठले भोगचलन गर्दै आएको जग्गालाई जिल्ला अदालतले सार्वजनिक भएको फैसला गरेपछि स्थानीय बासिन्दा जग्गा फिर्ताका लागि विरोधमा उत्रेका छन् ।

डमरुदह छेउ नजिकै रहेको सार्वजनिक जग्गा श्रेष्ठले २७ वर्षदेखि भोगचलन गर्दै आएका थिए । जिल्ला अदालतले गत मंगलबार उक्त जग्गा सार्वजनिक भएको ठहर गरेपछि शुक्रबार सयांैको संख्यामा उपस्थित गाउँलेले नाराजुलुससहित विरोध र्‍याली निकालेर श्रेष्ठले कब्जा गरी बसेको जग्गा तुरुन्त छाड्न चेतावनी दिएका छन् । ५ रोपनी ३ आना ३ दाम जग्गा श्रेष्ठले भोगचलन गर्दै आएका थिए । विरोध सभामा आक्रोशित सहभागीले सार्वजनिक जग्गा अतिक्रमण गर्ने श्रेष्ठलाई गाउँ छाड्न चेतावनी दिएका थिए ।

उक्त स्थानमा पञ्चायत कालमा सदरमुकाम रहेकाले ठाडालाई दोस्रो सदरमुकाम मानिन्छ । अहिले पनि जिल्लाको दक्षिणी क्षेत्रका मुख्य नाका भएकाले उक्त स्थानमा रोपनीको ५० लाखमा जग्गा बिक्री हुँदै आएको छ । श्रेष्ठले कब्जा गरेको जग्गा झन्डै चार करोड बराबरको छ । पञ्चायत कालमा पञ्चहरूको आडमा कब्जा गरी बसेको र २०५२ सालमा गाविस अध्यक्ष भएको बेला सार्वजनिक जग्गा आपmनो भन्दै पक्की घर बनाएका थिए । अतिक्रमित जग्गा छानबिन गर्न गाउँलेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजालसले जग्गा सार्वजनिक भएको ठहर गरेपछि सयौं सर्वसाधारण अतिक्रमण गरी बसेको जग्गामा उपस्थित भई विरोध गर्दै सार्वजनिक जग्गा छाड्न भन्दै घर घेरेका थिए । ‘वसन्त श्रेष्ठले भोगचलन गर्दै आएको जग्गा चिउरी घिउ उद्योगको नाममा सरकारको रहेको र श्रेष्ठले स्रेस्ता कायम नभएकाले सर्वजनिक ठहर गरिन्छ’ अदालतको फैसलामा छ ।

जनतालाई ठग्दै सार्वजनिक जग्गा कब्जा गर्ने कार्य जसले गरे पनि गलत भएकाले विरोध गरेको स्थानीय मोती बेल्वासेले बताए । ‘दसंैका बेला सराय नाँच, मेला लाग्ने, सार्वजनिक सभा सम्मेलन गर्ने गाविसकै महत्त्वपूर्ण जग्गा हो,’ उनले भने, ‘जग्गाबारे कुरा उठाए जे पनि गर्न सक्ने श्रेष्ठले पटकपटक धम्क्याउँदै आएका थिए ।’ अतिक्रमण गरी बस्दै आएको जग्गा तुरुन्त नछाडे श्रेष्ठलाई गाउँबाट लखेट्ने चेतावनी विरोध सभाका सहभागीले दिएका छन् । सयांैको संख्यामा सर्वसाधारणले घर घेरा हाली विरोध गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

सार्वजनिक जग्गा अतिक्रमणको विरोध गरेको भन्दै श्रेष्ठले २०६७ पुसमा काठ चोरी आरोपमा ३० छिमेकीलाई उजुरी दिएका र वन कार्यालयले तीन महिना उनीहरूलाई पुर्पक्षमा थुनामा राखेपछि विवाद बढ्दै जाँदा आक्रोसित गाउँलेले खुलेरै उनको विरोध गर्दै आएका थिए । ‘वषौर्ंदेखि आफू बस्दै आएको जग्गा सार्वजनिक नभएको भन्दै धम्क्याउँथे,’ स्थानीय होमनाथ भुसालले विरोध सभामा भने, ‘श्रेष्ठले जग्गा तत्काल नछाडे गाउँबाट विस्थापित हुनुपर्नेछ ।’ पूर्वराजा वीरेन्द्र ठाडाको भ्रमण आएका बेला २०४० सालमा चिउरी मिल उद्योग स्थापना गरिएको स्थानीय दिपककुमार पौडेलले बताए ।

०४३ सालमा मिल घाटामा गएकाले बन्द भयो र सरकारको लागनीमा सञ्चालन भएको घरसहितको मिलमा बस्दै आएपछि श्रेष्ठले आपmनो कब्जामा राखेको पौडेलले बताए । उद्योग बन्द भएपछि वसन्तले मिलका महत्त्वपूर्ण पार्टपुर्जा बिक्री गरेकाले र धार्मिक कार्यक्रम, सार्वजनिक जग्गामा खेती गर्दै आएका छन् भने ०४० सालमा सार्वजनिक पौवा रहेको स्थानमा अहिले दुई तले पक्की घर निमर्ाण गरी बसेको स्थानीय नारायण बेल्वासेले बताए । वसन्तले बस्दै आएको जग्गा चिउरी मिल उद्योगको नाममा छ भने दुई तले पक्की घर सार्वजनिक जग्गामा बनाएको र अन्य काममा पनि गाउँलेलाई ठग्दै आएको स्थानीयको आरोप छ ।

अन्य समाचारहरु