प्रधानन्यायाधीश जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

 

-रासस

काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ ।

सञ्चार तथा सूचना मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ ।”

यसअघि महाभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयले सर्वोच्च अदालतलाई पत्र पठाएको थियो ।

roadblock image

महाअभियोग प्रस्ताव अघिल्लो प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल हुनाका साथै सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।

तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा यही मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

गत फागुन १ गते सङ्घीय संसद्का महासचिवबाट प्रधानन्यायाधीश जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्र निष्प्रभावी भएको भनी सचिवालयले पत्र पठाएको छ ।

प्रधानन्यायाधीश जबराले मङ्सिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी सचिवालयमा निवेदन दिनुभएको थियो ।

प्रधानन्यायाधीश जबरा यही मङ्सिर २७ गते अनिवार्य अवकाश लिँदै हुनुहुन्छ ।