दाइजोका कारणले श्रीमतीको बञ्चरो प्रहार गरि हत्या

banne_1.jpeg

अजय कुमार झा

जनकपुरधाम । धनुषामा दाइजोको निहुँमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन ।

जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवले वर्ष २७ की श्रीमती रिता देवी यादवको गए राति सुतेकै स्थानमा हत्या गरेको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई श्रीमान् वीरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्‍याएका थिए । उपचारको क्रममा रिताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात् प्रहरीले थालेको अनुसन्धानमा श्रीमान् वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

घटनालाई अन्य तर्फ मोड्नका लागि श्रीमान् वीरेन्द्रले अज्ञात समूहले बञ्चरो प्रहार गरेको र आफू उपचारको लागि श्रीमतीलाई हस्पिटल पुर्‍याएको प्रहरीको अनुसन्धानबाट खुलेका प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिनु भयो ।

शङ्का लागेर सोधपुछ तथा अनुसन्धान थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार पनि गरेको प्रहरीले जनाएको छ ।

श्रीमान् वीरेन्द्रले बन्चरो प्रहार गरेर बारीमा रहेको पोखरीमा फालेका थिए । बञ्चरो प्रहरीले बरामद गरेको छ । श्रीमान् वीरेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गए राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो । श्रीमान् विरेन्द्र भने घटनाको बेला आफू अर्को कोठामा सुतेको प्रहरीलाई बयान दिएका थिए ।

विरेन्द्र तथा मृतक रिताको ४ र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि वीरेन्द्रले बिहेमा पाएको फर्निचर सहितका समान लिएर रितालाई माइत महोत्तरीको भंगहा नगरपालिका वडा नंं ९ अजगेबा पुर्‍याएका थिए । तर स्थानीयले श्रीमतीलाई फर्काएका थिए ।

आपसी झगडा तथा दाइजोका कारणले नै श्रीमतीको वीरेन्द्रले हत्या गरेको माइती पक्षको आरोप रहेको छ । वीरेन्द्रले पटक पटक विभिन्न सामानहरू माग गर्दै आएको र ससुराली पक्षले नदिएको कारणले श्रीमतीलाई यातना दिने गरेको पाइएको छ ।