भूपू गोर्खा सैनिकका मागबारे लन्डनमा तेस्रो चरणको वार्ता

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

भूतपूर्व गोर्खाहरुको मागका विषयमा लन्डनस्थित नेपाली दूतावास र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्रालयका प्रतिनिधि एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच बेलायतको रक्षा मन्त्रालयमा बिहीबार प्राविधिक स्तरको वार्ता भएको छ।

नेपाल र बेलायतबीच भूपू गोर्खाका मागका सम्बन्धमा यसवर्ष वार्ता भएको यो तेस्रो पटक हो।

Nepal Life Insurance

पाँच घण्टा चलेको वैठकमा भूतपूर्व गोर्खाहरुको औषधि उपचार, शिक्षा, रोजगारी लगायत अन्य हकहितका विषयमा बिहीबारको विहानी सत्रमा छलफल भएको थियो। त्यस्तै दिवासत्रमा अघिल्लो चरणमा बाँकी रहेका पेन्सन सम्बन्धी विषयहरुमा विस्तृत रुपमा छलफल भएको दूतावासले एक प्रेस विज्ञप्तिमा जनाएको छ।

बैठकमा नेपाली पक्षले उठाएका मागहरुका सम्बन्धमा रक्षा मन्त्रालयका पदाधिकारीहरुले आगामी दिनमा थप छलफलका लागि आफूहरु तयार रहेको बताएको दूतावासले जनाएको छ।

आगामी वैठक सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको दूतावासका द्वित्तीय सचिव रामबाबु नेपालले जानकारी दिए। ‘फेब्रुअरीमा अर्को चरणको वार्तामा बस्ने कुरा छ। मिती तय भएको छैन’ उनले भने।

छलफलमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार र द्वितीय सचिव नेपाल सहभागी थिए।

त्यस्तै भूतपूर्व गोर्खाहरुका तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ, मेजर(अ.प्रा.) टिकेन्द्र दल देवान, मेजर (अ.प्रा.) उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म बहादुर तामाङ सहभागी थिए। त्यसैगरी, बेलायत सरकारका तर्फबाट बेलायतको रक्षा मन्त्रालय एवं अन्तर्गतका निकायका विभिन्न पदाधिकारी सहभागी थिए। नेपालखबरले उल्लेख गरेको छ।