लुम्बिनीमा दुई महिनामै दानबापत ६१ लाख सङ्कलन

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

-राम प्रसाद आचार्य

रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ ।

लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटिकाको भेटी गणनामा उक्त रकम सङ्कलन भएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो ।

Nepal Life Insurance

अघिल्लो पटक ३ महिनामा एकपटक गणना गरिएकोमा यसपटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत शुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक पर्यटक अर्थात् नेपाली ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।

नोभेम्बर महिनामा भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । नोभेम्बर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

अन्य समाचारहरु