नेपाल आइपुगेको चिनियाँ टोली। तस्बिर : नेपालस्थित चिनियाँ दूतावास/ट्विटर

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ। पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न सोमबार चीनबाट विज्ञ टोली नेपाल आएको हो।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए।

‘चिनियाँ रेलवे एक्सपर्टको टोली आज आइपुग्नुभएको छ’, चित्रकारले नेपालखबरसँग भने, ‘उहाँहरुले विभागसँग छलफल तथा समन्वय गरी काम अगाडि बढाउनुहुन्छ।’

नेपाल आइपुगेको चिनियाँ टोली। तस्बिर : नेपालस्थित चिनियाँ दूतावास/ट्विटर
प्रवक्ता चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताए।
‘कोभिड लगायतको कारणले पूर्वसम्भाव्यता अध्ययनपछि रेलमार्गको विषयमा प्रगति हुनसकेको थिएन’, उनले भने, ‘यो प्रोजेक्ट प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको छ। निर्माणको चरणमा जाँदा कुनै समस्या नआउने गरी अध्ययन गर्छ।’

चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिम लगायतको विषयमा अध्ययन हुने चित्रकारले बताए।
बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्नेगरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङ–काठमाडौ रेलमार्ग पनि एक हो।

नेपाल आइपुगेको चिनियाँ टोली। तस्बिर : नेपालस्थित चिनियाँ दूतावास/ट्विटर
गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा चीनले रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता दिने सम्झौतामा हस्ताक्षर भएको थियो।
नेपालका तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा चिनियाँ विदेशमन्त्रीले चिनियाँ विज्ञ टोली पठाउने बताएका थिए। चीनले सम्भाव्यता अध्ययनको लागि अनुदान दिने घोषणा गरेको छ।नेपालखबरले उल्लेख गरेको छ।
तस्बिर : नेपालस्थित चिनियाँ दूतावास/ट्विटर



