
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचक ५६ दशमलव ८८ अंक बढेको छ । आज नेप्से परिसूचक बढेर २ हजार २९ दशमलव ०३ विन्दुमा पुगेको हो । यो चार महीनायताकै उच्च विन्दु हो । गत भदौ ९ गते २ हजार ३९ दशमलव ५५ विन्दुमा थियो ।

बिहीवार कारोबारमा आएका २५७ धितोपत्रको ८० लाख २४ हजार ५५९ कित्ता शेयर ४५ हजार ९४४ पटकमा रू. २ अर्ब ८६ करोड बराबरको शेयर किनबेच भएको छ ।
अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल नियुक्त भएसँगै शेयर बजारमा परेको सकारात्मक प्रभावले बजार बढेको लगानीकर्ता बताउँछन् । यससँगै अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको रकमबाट ८० प्रतिशतसम्म निक्षेप गणना गर्न सक्ने व्यवस्थालाई आगामी असारसम्म नै निरन्तरता दिने भएको छ । यस्तै, राष्ट्र बैंकले पनि पुसमा तरलता अवस्था बिग्रिन नदिन रिपोमार्फत ५० अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा पठाउने निर्णय गरेको छ । यसले शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाइ छ ।

कारोबारमा आएका २५७ धितोपत्रमध्ये तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।
त्यसैगरी ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ३ दशमलव ९५ प्रतिशत घटेको छ । ऋणपत्र मूल्य रू. ८११ दशमलव ८० कायम भएको हो ।
त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको रू. १२ करोड १४ लाख बराबरको भएको छ । यो सूचीमा दोस्रोमा छ, नेपाल दुरसञ्चार कम्पनी । उसको रू. १० करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ५ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । – अभियान



