
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
शुक्रबार बिहान बालुवाटार पुगेर ओलीले प्रचण्डसँग भेटवार्ता गर्नु भएकाे हो ।

भेटमा मन्त्रिपरिषद् विस्तार, विभिन्न पदमा भागबन्डा, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ । सत्तारुढ गठबन्धनमा सहमति जुटाउनुअघि दुई नेताबीच एक्लाएक्लै बार्ता भएको हो ।

बिहीबारमात्रै गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।



