भारतमा शीतलहरबाट सिर्जित चिसोले हृदयाघात हुँदा एकैदिन २२ जनाको मृत्यु

 

 

 

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सिर्जित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ। मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७२३ जना मुटुका बिरामी आएका थिए।  तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल  नआइपुग्दै मृत घोषणा गरिएको  थियो।

Fog to intensify over parts of Uttar Pradesh | Skymet Weather Services

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको  र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ।

कानपुरमा  व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको  सङ्ख्या ह्वात्तै  बढेको छ, एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन्।

कानपुरका स्वास्थ्य विज्ञहरूले  सबैलाई न्यानोमा  रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्।

उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ।-रासस/सिन्ह्वा