
बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।

अब बुटवलमा यसअघि दर्ता भएका एक हजार २५६ वटा इ-रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इ-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका इ-रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा दर्ता नभएकालाई रोक लगाइएको हो ।
दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन विनादर्ताका इ-रिक्सा सञ्चालनमा रोक लगाएको उनले बताए ।
नगरले तयार पारेको कार्यविधिअनुसार थप १८४ इ-रिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इ-रिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिने उनले बताए ।

बुटवलमा झण्डै चार हजार इ-रिक्सा सञ्चालनमा रहेका छन् । उपमहानगरको निर्णयपछि दर्ता नभएका इ-रिक्सालाई उपमहानगरपालिकाले पाँच हजार रुपैयाँका दरले जरिवाना लिन थालेको इ-रिक्सा मजदुर बागबहादुर बुढाले बताए ।
राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताए । उनले दर्ता नगरी सञ्चालन गरेका इ-रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

उपमहानगरपालिका राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेलले बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका इ-रिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र कानुनी दायरामा नआउनेलाई दर्ता खारेज गर्ने र नयाँ प्रक्रिया सुरु गर्ने बताए ।अनलाइनले उल्लेख गरेको छ।



