फाइल तस्बिर।


काठमाडौँ– राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता चार दिन बाँकी रहँदा उम्मेदवारको स्पष्ट तस्बिर बन्न सकेको छैन। द्रुत गतिमा भइरहेका दलहरुका आन्तरिक छलफलले मुलुकको राजनीति यतिबेला राष्ट्रपतिको चुनावमय बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपति बन्न आग्रह गरेको खबर सेलाउन नपाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रपतिको उम्मेदार बनाईदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्।

लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेको छ। यता माधव नेपाललाई उम्मेदवार बनाउने बिषय निष्कर्ष नजिक पुर्याउने उद्देश्यले नेकपा एसका नेता किसान श्रेष्ठ आज ओलीलाई भेट्न बालकोट पुगेका थिए।
श्रेष्ठ ओलीलाई भेट्न जानुले पनि माधव नेपाललाई राष्ट्रपतिमा ओलीले सहयोग गर्न खोजेको थप पुष्टि भएको छ। राष्ट्रपतिको उम्मेदवार छनोटको कारण सत्ता समीकरण बदलिने, नेकपा एस (एकीकृत समाजवादी) पुरानै घर फर्किने, एमालेको नेतृत्वमा सरकार बन्ने अथवा एमाले प्रतिपक्ष नै रहेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अथवा यी बाहेकका अन्य विकल्पबारे नेताहरु दिन आन्तरिक छलफलमा छन्।
माधव नेपालले नेकपा एसलाई एमालेमा नै समाहित गराएपछि राष्ट्रपति पक्का हुने गरी सहमति बन्दै गरेको एउटा पाटोको चर्चा छ। नेकपा एकताले पूर्णता नपाउँदै फुट्ने हल्ला सुरु भएर विभाजित भएजस्तै एमाले र एकीकृत समाजवादी एक हुने बिषय पनि बेलाबखत नआएका होइनन्।
कम्युनिष्ट नेताहरु आ–आफ्नो स्वार्थ अनुसार नेकपा एकताको प्रसंग उठाउँदै आएका हुन्।

यसपटक पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई पार्टी एकताको सर्तमा राष्ट्रपति बनाइदिने प्रस्ताव गरेका छन्।
ओलीले राष्ट्रपति बनाइदिने प्रस्तावलाई नेपालले पनि घुमाउरो शैलीमा स्वीकार गरेका छन् तर दुई नेताबीच कुरा कति अघि बढेको छ त्यसको यथेष्ट प्रमाण भने भेटिएका छैनन्।
त्यसो त नेताहरुका सबै आन्तरिक बैठक, भेटघाट र छलफलपछि सबै बिषय बाहिर आउँदैनन् र चर्चामा आएका बिषयमा पनि आंशिक सत्यता मात्रै भेटिन्छन्।
पछिल्लो दौडधूप र नेताहरुको अभिव्यक्तिले ओली नेपालले पार्टी एकीकरण गरेर माधव नेपालाई राष्ट्रपतिको उम्मेदवार उभ्याउन सक्ने सम्भावना छ।
पूर्ववर्ती सत्ता गठबन्धनको एक घटकका अध्यक्ष भएको नाताले प्रचण्डले नेपाललाई समर्थन गर्न पनि सक्छन्, तर प्रचण्डले नै प्रस्ताव गरेजस्तो माधव नेपाल राष्ट्रिय सहमतिका पात्र बन्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न छ।

ओली र नेपाल नजिकिने प्रयास गर्दै गर्दा प्रचण्ड अर्को सत्ता जोड घटाउको शृंखलामा प्रवेश गर्न पनि सक्छन्। पुस १० गते प्रधानमन्त्रीमा दाबी गर्ने बेला प्रचण्डले राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति जनाएका थिए। तर पुस २६ गते संसदमा काँग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बिषयमा जोड गरिरहेका हुन्।
प्रचण्ड यसपटक राष्ट्रपति निर्वाचनमा निर्णायक पात्र देखिएका छन्। यसअर्थमा पनि काँग्रेस र एमाले दुबै प्रचण्डसँग मिलेर गठबन्धन निर्माण गरी राष्ट्रपति आफ्नो दलको बनाउने प्रयासमा छन्।

राष्ट्रपतिको निर्वाचनको लागि यही फागुन १३ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। त्योभन्दा अघि नै एमाले र नेकपा एस एक हुने गरी गृहकार्य गर्दैछन् भने कांग्रेस राष्ट्रपति आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ।
कांग्रेसको तर्फबाट पनि उम्मेदवार टुंगो लागिसकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ।
यता, नेकपा एस र एमाले एक हुने सन्दर्भमा नेपाल पनि विस्तारै लचक बन्दै आएको जस्तो माधव नेपालको अभिव्यक्तिले देखाउँछ।

तर विगतमा ओलीसँगका कटुता भुलेर नेता नेपालले ओलीलाई विश्वास गर्छन् वा गर्दैनन्, त्यो भोलिको दिनले देखाउने नै छ। राष्ट्रपति चयनका लागि दलहरुको पछिल्ला व्यस्ततालाई विश्लेषकहरुले अनावश्यक दौडधूपको संज्ञा दिएका छन्। विश्लेषक लोकराज बरालले यसपटक राष्ट्रपति चयनको लागि दलहरुले धेरै नै दौडधूप गरेको बताए।

उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएका केही विवादको कारण पनि अबको राष्ट्रपति चयनमा दलहरुले धेरै दौडधुप गरेका छन्।’देश संचारले उल्लेख गरेको छ।



