रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय, चुनाव हारेका उपेन्द्र मन्त्री बन्ने दाउमा

spot_img

काठमाडौँ — जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिए ।

पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

योसँगै गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बरभन्दा धेरै मतान्तरले पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सांसद बन्दै मन्त्री बन्ने खेल सुरु भएको छ।

यसका लागि उनले उपराष्ट्रपति पदलाई हतियार बनाउने भएका छन्। यादवले आफू पक्षीय नेता रामसहाय यादवलाई संसदीय दलको नेतामा समेत सर्वसम्मत गराएका थिए।

रामसहाय उपराष्ट्रपति बनेर गएपछि उनले सांसद पदबाट राजीनामा दिनुपर्नेछ। उनले राजीनामा दिएसँगै बारा २ को प्रतिनिधि सभाको सिट रिक्त हुनेछ।

रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ। यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो।