
-ध्रुव अधिकारी
वीरगञ्ज । मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नाका वीरगञ्जको व्यापार दिन प्रतिदिन खुम्चिन थालेपछि व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् ।
देशकै अर्थतन्त्रलाई प्रभावित पर्ने वीरगञ्जको उद्योग व्यवसाय ओरालो लाग्न थालेपछि व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका हुन ।

कोरोना महामारीका कारण थला परेको वीरगञ्ज बजार क्षेत्र पछिल्लो समय आर्थिक सङ्कटका कारण सुनसान बन्दै गएको छ । मुलुकको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको वीरगञ्जमा व्यापार हुन छाडेपछि पलायन हुने अवस्था सृजना भएको व्यवसायीहरूको भनाइ छ ।
कुनै बेला भ्याई नभ्याई हुने ब्यापार आजभोलि बिहानको बोहनी हुन समेत नसकेको व्यवसायीहरू गुनासो छ । बिहान पसल खुलेसगै भिडभाड हुने बजार आजभोलि सुनसान हुँदै गएको व्यापारीहरू बताउँछन् ।

वीरगञ्ज महानगरपालिका ८ का व्यवसायी श्रवण अग्रवालले बैङ्कको चर्को ब्याजदरले व्यापार धरासायी भएको बताउनुभयो । उहाँले बैङ्कको ब्याजदर ७ प्रतिशतबाट १६ पुगेको, घर भाडा १५ हजारबाट ३५ हजार पुगेको तर व्यापार शून्य हुँदा पलायन हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
आफूले गरेको व्यापारबाट घर भाडा तिर्न मात्र ठिक्क भएका कारण व्यवसायबाट पलायन हुने अवस्था आएको माइस्थान थोक तथा किराना स्टोरका सञ्चालक प्रभु गुप्ताले बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताले आर्थिक मन्दी र उच्च ब्याजदरका कारण व्यवसाय धरापमा परेको बताउनुभयो । व्यवसाय गरेर जीविकोपार्जन गर्नसक्ने अवस्था नभएपछि विस्थापित हुने अवस्था सृजना भएको गुप्ताको भनाई छ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले स्पेसल प्याकेज बनाएर व्यवसायीलाई राहत दिन सके मात्र व्यापार चक्रलाई पुनः लयमा ल्याउन सकिने उहाँले बताउनुभयो । -आर एन




