कसरी चल्छन् र डुब्छन् बैंक ? कति सुरक्षित छ निक्षेप ?

केदार सिटौला  – केदार सिटौला

अमेरिकामा दुई वटा बैंक डुबेपछि अहिले विश्वव्यापी रुपमा बैंकहरुको विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ। खासमा बैंक किन डुब्छन् ? के कस्तो तरिकाले बैंकहरु चलिरहेका हुन्छन् र तिनमा नगदको प्रवाह कसरी भइरहेको हुन्छ भन्ने बुझ्ने हो भने बैंकका पैसा राखेर ढुक्कले सुत्ने जो कोहीको होस् निन्द्रा गायब हुन्छ।

बैंकहरुले कसरी काम गर्छन् भन्नेबारे प्रख्यात इतिहासकार युवाल नोहा हरारीले रोचक ढङ्गले एउटा कथा भनेका थिए। उनको कथालाई यहाँ नेपालको सन्दर्भमा रूपान्तरण गरि प्रस्तुत गरिएको छ।  जसले सबैलाई बैंकलाई बुझ्न र यसको चक्रलाई ठम्याउन पक्कै पनि सहयोग पुग्नेछ। कथा यस्तो छ :

मानौँ, काठमाडौँका एक धनी व्यापारी मनीराम महर्जनले एउटा बैंक खोले। त्यो बैंकको नाम, धनलक्ष्मी बैंक राखियो। त्यसै समय काठमाडौँका एक निर्माण व्यवसायी श्याम बहादुर श्रेष्ठले एउटा घर निर्माण गरेबापत प्राप्त पैसा १० लाख रुपैयाँ सो धनलक्ष्मी बैंकमा जम्मा गरे। उही समयमा काठमाडौँ कै एक जना बेकरी उद्यमी हरि प्रसाद हलुवाईलाई आफ्नो व्यवसायलाई अझ बिस्तार गर्ने इच्छा लाग्यो।

कसरी चल्छन् र डुब्छन् बैंक ? कति सुरक्षित छ निक्षेप ?

उनले आफ्नो बेकरी उद्योगलाई अझ आधुनिक बनाउन नयाँ प्रविधिको ओभन र अरू मेशिनरी थप्ने योजना सो बैंकका म्यानेजरलाई सुनाए। बैंकका म्यानेजरले पनि हरिप्रसादको योजनाबाट प्रभावित हुँदै उनलाई १० लाख रुपैयाँ कर्जा दिन मन्जुर गरे। हरि प्रसादले नयाँ बेकरी उद्योगमा नयाँ मेसिन हाल्ने लगायतका स्तरोन्नतिका काम गर्ने ठेक्का उनै ठेकदार श्याम बहादुरलाई दिए। हरि प्रसादले ठेक्का बापतको रकम १० लाख रुपैयाँ काम सम्पन्न गर्ने श्याम बहादुरलाई दिए। सो पैसा श्याम बहादुरले धनलक्ष्मी बैंकको आफ्नो खातामा निक्षेपको रुपमा जम्मा गरे। उनको खातामा अब २० लाख रुपैयाँ भयो।

तर, बैंकसंग भने यो बेला जम्मा नगद त्यही श्याम बहादुरले भर्खर जम्मा गरेको १० लाख मात्र छ। पहिले उनले जम्मा गरेको पैसा त बैंकले हरि बहादुरलाई ऋणका रुपमा लगानी गरिसकेको छ। उता बेकरी उद्योग निर्माणको काम जोडतोडले चल्दै छ। १० लाख खर्च गरिसक्दा पनि काम सकिएन।

केही समयपछि ठेकेदार श्याम बहादुरले के महसुस गरे भने निर्माण लागत सुरुको अनुमान भन्दा दोब्बर हुनेवाला छ। उनले यो कुरा बेकरी उद्योग मालिक हरिप्रसाद हलुवाईलाई सुनाए। हरि प्रसाद निक्कै रिसाए तर रिसाए पनि काम बिचमा रोक्न उनले सकेनन्। पुरा गर्नै पर्‍यो। तर, उनीसँग थप पैसा थिएन। फेरी बाध्य भएर धनलक्ष्मी बैंकमा उनी पुगे। आफ्नो समस्या म्यानेजरलाई सुनाए। म्यानेजरले फेरी उनलाई अपुग रकम १० लाख रुपैयाँ कर्जा थपिदिए। उनको कर्जा अब २० लाख रुपैयाँ पुग्यो।

उनको त्यो १० लाख रुपैयाँ ठेकेदार श्याम बहादुर श्रेष्ठलाई दिए। श्याम बहादुरले त्यो पैसा फेरी धनलक्ष्मी बैंकको आफ्नो खातामा जम्मा गरे। श्याम बहादुरको खातामा ३० लाख भयो। तर, बैंकमा कति पैसा छ ? बैकसँग भएको पैसा भने १० लाख रुपैयाँ मात्र हो। साँच्चै भन्ने हो भने बैंकसंग सुरु देखी नै १० लाख रुपैयाँ  मात्र नै थियो।

अमेरिकाको बैंकिंग कानुन अनुसार बैंकहरुलाई धनलक्ष्मी बैंकले गरेको जस्तो कारोबार अरू ७ पटकसम्म दोहर्‍याउन पाउँछन्। ठेकेदार श्याम बहादुरको खातामा एक करोडसम्म पैसा जम्मा हुनसक्छ तर बैंकको भल्टमा सुरु जस्तै १० लाख रुपैयाँ मात्र हुन्छ। अमेरिकाको बैंकिंग कानुन अनुसार बैंकले आफूसँग  भएको १ डलर रकम बराबर १० डलर सम्म कर्जा दिन सक्छ। जसको अर्थ हुन्छ हामीले बैंकमा राखेको ९० प्रतिशत पैसाको सुरक्षण बापत बैंकसंग नगद हुँदैन।

Banking financial symbols, png | PNGWing

यदि बैंकमा सबै बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता माग्न एक साथ पुगे भने सबै बैंकहरु टाट पल्टिन्छन्। कुनै पनि बैंकले सबै बचतकर्ताको पैसा फिर्ता दिन सक्दैनन्। यदि त्यस्तो भयो भने बैंकहरुको अवस्था पनि अहिले नेपालका सहकारीहरूको जस्तै हुन्छ। सबै बचतकर्ताहरू एकै पटक आफ्नो बचत फिर्ता माग्न आएपछि जसरी सहकारीका सञ्चालकहरू कार्यालयको मूल ढोकामा ताला लगाएर भाग्न थालेका छन् सबै बैंकर्सहरु पनि त्यसरी नै भाग्ने अवस्था आउन सक्छ।

अब धेरैको मनमा प्रश्न उठ्छ, हामीले बैंकमा राखेको पैसाको सुरक्षा कति हुन्छ ? बचतकर्ताले आफुले बैंकमा बचत गरेर राखेको रकमको बिमा गरिएको हुन्छ। जसलाई निक्षेप सुरक्षण भनिन्छ।  इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो ।

निक्षेप सुरक्षणको रकम चाहिँ हरेक देश अनुसार फरक फरक हुन्छ। अमेरिकामा हरेक बचतकर्ताको खाताको दुई लाख पचास हजार डलर बिमा गरिएको हुन्छ। यदि कुनै बैंक डुब्यो भने त्यो बैंकमा बचतकर्ताको खातामा दुई लाख पचास हजार डलर जति बचत छ भने उसले आफ्नो बचत रकम सबै फिर्ता पाउँछ। तर, यदि खातामा दुई लाख पचास हजार भन्दा बढी बचत छ भने उसले दुई लाख पचास हजार मात्र फिर्ता पाउँछ। त्यो भन्दा बढी जति रकम भए पनि फिर्ता पाउँदैन कानुनी रुपमा। भलै त्यहाँको सरकारले नपुग रकम तिरिदिने भने गरेको छ। तर, त्यो बाध्यकारी भने होइन।

त्यस्तै, क्यानडामा एक लाख डलर बिमा छ। युरोपमा एक लाख युरो छ। भारतमा ५ लाख भारु छ।  नेपालमा कुनै बैंक डुब्यो भने पहिले दुई लाख रुपैयाँ मात्र  थियो। नेपालमा हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।। यसको अर्थ के हो भने मानौँ, अहिले नेपालमा कुनै बैंक टाट पल्टियो भने हामीले त्यो बैंकमा ३ लाख रुपैयाँ जम्मा गरेको छ भने त्यो रकम फिर्ता आउँछ। यदि ३  लाख भन्दा बढी १० लाख, बिस लाख वा एक करोड राखे पनि त्यो रकम फिर्ता आउँदैन। त्यस कारण आफ्नो सबै पैसा कुनै एउटा बैंकमा मात्र नराख्नु होला। आफ्नो पैसा ३-४ वटा बैंकमा राख्ने गर्नु उचित हुन्छ। किनकि कुनै एउटा बैंक डुब्यो भने अरू बैंकमा राखेको पैसा सुरक्षित रहन्छ।

बैंकको यो उल्लेखित कथा पढ्दा यो कुनै ठगीको व्यापार जस्तो लाग्न सक्छ। यदि तपाइलाई यो ठगी नै जस्तो लाग्छ भने यो बुझ्नु जरुरी छ कि हाम्रो पुरै आर्थिक प्रणाली नै एक प्रकारको ठगी नै हो। आधुनिक आर्थिक प्रणाली नै एउटा काल्पनिक कथामा आधारित छ। आधुनिक विश्वको आर्थिक प्रणाली यो काल्पनिक कथामा उल्लेख गरे जस्तै हाम्रो विश्वासमा आधारित छ। त्यो विश्वास टुटेको दिन यो आर्थिक प्रणाली बालुवाको घर जस्तै भत्किन सक्छ।- आर्थिकन्युज