मोरङ:  सामाजिक विषयका दुई सय नक्कली परीक्षार्थी पक्राउ, परीक्षार्थीहरूको सबै परीक्षा रद्द

-बाबुराम भण्डारी

विराटनगर- यस वर्षको जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा अन्तरगत बिहीबारको सामाजिक विषयको परीक्षामा नक्कली विद्यार्थी बनेर मोरङका तीनवटा विद्यालयको परीक्षा केन्द्रमा परीक्षा दिइरहेका दुई सय जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केराबारी गाउँपालिकाको सार्वजनिक मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका मात्रै एक सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । उक्त विद्यालयको परीक्षा केन्द्रमा दुई सय ९८ जना विद्यार्थी परीक्षामा सहभागी थिए । त्यहाँ कूल परीक्षार्थीको ४२ प्रतिशत परीक्षार्थीहरू नक्कली परीक्षार्थी भेटिएका हुन् ।

वास्तविक परीक्षार्थीहरूसँग नाता सम्बन्ध भएका र केहीले आर्थिक प्रलोभनमा परेर नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको सुरक्षा स्रोतले जनाएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–२ सरस्वती मावि झोराहाटबाट बुधबार एक जनासहित बिहीबार थप ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । त्यसैगरी सुन्दरहरैंचा नगरपालिकास्थित जनता मावि पचामबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

बुधबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा चलिरहँदा ग्रामथानको सरस्वती माविबाट पक्राउ परेकी कल्पना लिम्बूमाथि गरिएको अनुसन्धानले नक्कली परीक्षार्थीको जालो पत्ता लागेको जनाइएको छ । सुनसरीको धरान उप–महानगरपालिका–५ की २८ वर्षीया लिम्बु पक्राउ परेकी थिइन् । परीक्षा केन्द्रमा गोप्य रूपमा अनुसन्धान अघि बढाएर बिहीबार पुनः चेकजाँच गर्दा ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

ग्रामथानको सरस्वती माविमा मोरङकै बुढीगंगा गाउँपालिका–१ टंकीस्थित नरग्राम माविका विद्यार्थीहरूको परीक्षा केन्द्र रहेको थियो । सरस्वतीका प्रधानाध्यापक तथा परीक्षा केन्द्रका केन्द्राध्यक्ष अशोककुमार लुईंटेलले विद्यार्थीको फोटो, जन्म मिति र विद्यार्थीको जाँच गर्ने क्रममा विवरणहरू नमिलेको भेटिएपछि विद्यार्थीहरूलाई निगरानीमा राखिएको बताए । उनले बिहीबार सामाजिक विषयको प्रश्नपत्र बाँडेपछि विद्यार्थीहरूमाथि छानबिन सुरु गरिएको जानकारी दिए ।

‘नरग्राम माविको खुल्लातर्फका विद्यार्थीको सेन्टर परेको थियो, बुधबार एक जना विद्यार्थीमाथि शंका भएपछि हामीले हिजोदेखि नै अरु विद्यार्थीहरूमाथि आशंका गरेका थियौं,’ केन्द्राध्यक्ष लुईंटेलले भने, ‘प्रश्नपत्र बाँडेपछि विवरण भिडाउँदा केहीको जन्म मिति मिलेन, आमा बाबुको नाम पनि मिलेन, परीक्षार्थीले कक्षा ८ पढेको विद्यालयको नाम सोध्दा उनीहरू अकमक्किए, केही भन्न सकेनन् ।’

खुल्लातर्फका दुई सय विद्यार्थीहरू सबैको विवरण चेकजाँच गर्दा आजमात्रै ५२ जना शंकास्पद विद्यार्थी फेला परेको र उनीहरूलाई परीक्षा केन्द्रमा रहेका प्रहरीसँग समन्वय गरेर थप अनुसन्धानको प्रक्रिया अघि बढाएको लुईंटेलले बताए ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन दाहालले बुधबार र बिहीबार गरी मोरङका तीन वटा विद्यालयमा रहेको परीक्षा केन्द्रबाट दुई सय नक्कली परीक्षार्थी पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्ने नक्कली परीक्षार्थीहरू मध्ये केही ट्यूसन कक्षा र कोचिङ सेन्टर संचालकहरू पनि रहेको जनाइएको छ ।

सुन्दरहरैंचाको जनता माविबाट तीन सय ११ जना र ग्रामथानको सरस्वती माविबाट दुई सय ९२ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।

अनुसन्धानका क्रममा सक्कली विद्यार्थीको प्रवेश पत्रको फोटोमा नक्कली परीक्षार्थीहरूको फोटो टाँसिएको पाइएको छ । प्रहरीले अनुसन्धानका क्रममा परीक्षा हलमा सहभागी विद्यार्थीहरूलाई जन्म मिति र आमा बाबुको नाम सोधेको थियो । नक्कली परीक्षार्थीहरूले भने परीक्षाको फाराम भर्दाको जन्म मिति र आमाबाबुको नाम भन्न नसकेपछि परीक्षा हल नै नियन्त्रणमा लिएर पक्राउ गरेको जनाइएको छ । दाहालले भने, ‘नक्कली गिरोह नै सक्रिय भएको अनुमान गरेर हामीले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएका छौं, अहिले पनि अनुसन्धान भइरहेको छ ।’

परीक्षार्थीहरूको सबै परीक्षा रद्द

यसैबीच नक्कली परीक्षार्थीले दिएका सबै विषयको परीक्षा रद्द हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका इकाइ प्रमुख टंकप्रसाद गौतमले पक्राउ परेका सबै परीक्षार्थीले दिएको सबै विषयको परीक्षा रद्द हुने बताएका हुन् ।

उनले प्रहरीमार्फत नक्कली परीक्षार्थीहरूबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिँदै सम्बन्धित परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्द गरिने जानकारी दिए । ‘यो घटनाले शिक्षा क्षेत्रका अरु परीक्षामा पनि प्रश्न खडा गरिदिएको छ, अब्बल परीक्षार्थीले जाँच दिएर कमजोर मान्छे अगाडि आउने अवस्थाको सिर्जना गरेको छ,’ गौतमले भने, ‘पक्राउ परेका दुई सय जना नक्कली विद्यार्थीहरूले दिएका सबै फर्जी परीक्षा रद्द गरिन्छ र अनुगमनलाई अझ कडा बनाइने छ ।’

इकाइ प्रमुख गौतमले नियमिततर्फका अरु परीक्षामा भने यो घटनाले कुनै पनि असर नपर्ने बताए । परीक्षामा सुधारको खाँचो देखिएको भन्दै घटनाले परीक्षा प्रणालीको सुधारका लागि सरोकारवालाहरूले अझ आफ्नो भूमिका बढाउँदै लैजानुपर्ने बताए ।

मोरङमा यस वर्षको एसईई परीक्षामा कूल १८ हजार ११२ जना विद्यार्थी सहभागी रहेको जनाइएको छ । ७१ वटा परीक्षा केन्द्र छन् । परीक्षा संचालनमा ७१ केन्द्राध्यक्ष, ११६ सहायक केन्द्राध्यक्ष र ९३७ निरीक्षकहरू खटिएका छन् ।

नियमिततर्फ १७ हजार २९५, प्राविधिक धारमा ६४४, ग्रेडवृद्धिमा १७३ र नियमित खुल्लातर्फ एक हजार ३२ जना परीक्षार्थीमा सहभागी छन् । मोरङका १७१ वटा सामुदायिक र २२३ वटा संस्थागत गरी जम्मा ३९४ वटा विद्यालयहरूबाट विद्यार्थीहरूले एसईई दिइरहेका छन् ।इकागजले उल्लेख गरेको छ।