दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन्।

दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ :  उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तरमा गृहमन्त्री श्रेष्ठले अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने बताएका हुन्।

‘दुई करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ सञ्चारकर्मीलाई गृहमन्त्रीले भने।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन्। अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ।

अडियोमा सांसद श्रेष्ठले रास्वपा समापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन्। यसैबीच गृहमन्त्री श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन्। सोही पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गरे। ‘संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ। तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन,’ उनले भने।