

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट भन्नेहरूबाटै कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताउनुभयो ।

नेकपा (मसाल) रुपन्देही जिल्ला समितिद्वारा आयोजित नेकपाको पचहत्तरौँ पार्टी स्थापना दिवस तथा लेनिनको १५४ औँ जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

नामधारी कम्युनिस्टको बिगबिगीले क्रान्तिकारी कम्युनिस्टहरू ओझेलमा परेको बताउँदै अध्यक्ष केसीले असली कम्युनिस्ट एक ठाउँ हुनुपर्नेमा बताउनुभयो ।
लेनिनवादी सङ्गठनात्मक पद्वति, कम्युनिस्ट पार्टीको विचार र सिद्वान्त नमान्नेहरू कम्युनिस्ट हुन नसक्ने उल्लेख गर्दै नेता केसीले भन्नुभयो– ‘लेनिनवादी सङ्गठनात्मक पद्वति, कम्युनिस्ट पार्टीको विचार र सिद्वान्त नमान्नेहरूबाट कम्युनिस्ट पार्टी बचाउनुपर्छ ।’

विचार र सिद्वान्त मिल्ने कम्युनिस्ट पार्टीमाझ एकता हुनुपर्ने बताउँदै नेपालमा कम्युनिस्टहरू कमजोर हुँदा राष्ट्रियता कमजोर भएको बताउनुभयो ।
प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका अध्यक्ष केसीले नेपालमा अमेरिकी र भारतीय साम्राज्यवादको हस्तक्षेप बढेको अधयक्ष केसीको भनाइ राख्नुभयो । नेपाललाई अस्थिर बनाएर आफ्नो स्वार्थ पूरा गर्ने गरी विदेशी हस्तक्षेप बढेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, वरिष्ठ पत्रकार सुमन अधिकारी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य शङ्कर पोखरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, राजमो नेताहरू कृष्ण जिसी, हरि राहाडी, हेमलाल न्यौपाने, गोपाल बञ्जाडेलगायतले बोल्दै कम्युनिस्ट पार्टीको स्थापनाको उद्देश्य र कम्युनिस्ट नेता लेनिनबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।

कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता तथा राजमो रुपन्देहीका सचिव टानबहादुर केसीको सञ्चालनमा उक्त कार्यक्रम भएको थियो ।




