

काठमाडौँ- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने वा ठगी प्रकरणमा थप मानिस तानिने देखिएको छ । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले १० देखि ११ जना पक्राउ पर्न सक्ने बताएका हुन् ।
‘अझै १०/११ जना व्यक्तिहरू पक्राउ पर्न सक्छन्,’ उनले इकागजसँग भने, ‘अरू व्यक्तिहरूमा थप अनुसन्धान भइरहेको छ । अहिले केही भनिहाल्ने अवस्था छैन ।’

अहिले प्रहरीले ८ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
उनका अनुसार शरणार्थी प्रकरणमा प्रहरीले सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । संगठित रूपमै ठगी गरेको पाइएपछि प्रहरीले यसलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेकाे छ ।

अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरुङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन् ।







