

काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीलाई खोज्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरिएको छ।
पक्राउ पूर्जी जारी भएपछि आफैं सम्पर्कमा आउने बताए पनि उनी त्यसपछि फरार भएका थिए। अहिलेसम्म सम्पर्कमा नआएपछि खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरिएको प्रहरी हेडक्वार्टर स्रोतले बतायो।

त्यसैगरी रायमाझी भागेर भारत पुगेको आशंका पछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि परिचालन गरिएको छ। गृह स्रोतका अनुसार रायमाझी भारतको लखनउ वा गोखरपुरतिर पुगेको आशंका गरेपछि सीआईबीलाई पनि परिचालन गरिएको हो।
गत बुधबार अर्घाखाँखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका रायमाझीले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।

गृह मन्त्रालय स्रोतका अनुसार रायमाझी रुपन्देहीको शिवनगरसम्म पुगेको देखिएको छ । त्यसपछि भने उनी ‘सिट आउट’ भएको पाइएको छ । उनी भारत पुगेको आशंका गरिएको छ ।
बुधबार पक्राउ पूर्जी जारी भए पनि सोमबार बितिसक्दा समेत प्रहरीले रायमाझीलाई पक्राउ गर्न सकेको छैन । बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।
अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका थिए।

तर, उनी एकाएक सम्पर्कविहीन भए । राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। त्यति नै बेला रायमाझीका छोरा सन्दीप पक्राउको खबर बाहिरिएपछि उनी फरार भएका थिए ।
यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।







