

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौधरीले सोमबार तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।


नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता रहेका छन् । कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जनता समाजवादी पार्टीका अहिरले कृषि तथा भुमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले यसअघि बिना विभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि नै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै केही मन्त्रालय भने रिक्त नै छन् ।
नव नियुक्त तीन मन्त्रीले सोमबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्तालाई सोमबार नै मन्त्रीमा नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्य मन्त्रीमा खनाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल र सामाजिक विकासमन्त्रीमा गुप्ताले सपथ लिएका हुन् ।

कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जनता समाजवादीका भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।तीन जना मन्त्री थपिएसँगै लुम्बिनीमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित कांग्रेसका चौधरी गत वैशाख १४ मा मुख्यमन्त्री बन्नु भएको थियो । गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

बाँकी मन्त्रीहरु बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी गराउनुभएको छ ।






